भारतमा अलपत्र नेपालीको उद्दार गर्न प्रगतिशील समाजको माग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारतमा अलपत्र नेपालीको उद्दार गर्न प्रगतिशील समाजको माग



नयाँ दिल्ली- भारतमा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाजले सरकारसँग जोडदार माग गरेको छ । भारतमा हजारौँको सङ्ख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज भारतले माग गरेको हो ।

समाजले एक विज्ञप्ति जारी गर्दै कोरोनाले विश्व आक्रान्त भएका बेला छिमेकी देशमै नेपालीहरू अलपत्र परेको र लामो समयदेखि दुख पाएको हुनाले यसबारे सरकारले तत्काल निर्णय गरेर क्वारेन्टाइन देखि सबै प्रक्रिया पुरा गरेर नेपाल जान पाउने व्यवस्था गर्न माग गरेको हो ।

सङ्गठनका अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र सेर्पालीको संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्

आदरणीय भारत प्रवास स्थिति नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यति बेला विश्व महामारीको रूप लिएको कोरोना भाइरस COVID १९ बाट सारा विश्व आक्रान्त बनिरहेको छ ।
चीनको वुहान सहरबाट सुरु भएको भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।

उक्त भाइरसका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा परेको छ । विश्वभरि लाखौँ मानिसको ज्यान गइसकेको छ भने लाखौँलाख मानिस सङ्क्रमित छन् करोडौँको सङ्ख्यामा बेरोजगार बनेका छन् ।

भारतमा पनि सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या बढ्दो क्रममा छ । त्यसैलाई मध्यनजर गरी भारत सरकारले भाइरस नियन्त्रण गर्ने उद्देश्य सहित गत मार्च २२ देखि जारी गरेको लकडाउनलाई निरन्तरता दिँदै आगामी मे १७ सम्म थप लकडाउनको घोषणा गरेको छ । यद्यपि केही स्थानमा खुकुलो पार्दै लगेको छ । मजदुरहरूलाई घर फिर्तीको लागि केही प्रक्रिया पुर्‍याएर एक राज्यबाट अर्को राज्य जानलाई अनुमति पनि दिएको छ ।

यद्यपि उक्त मितिसम्म पनि भाइरस नियन्त्रणमा आउने कुनै सम्भावना छैन भाइरस नियन्त्रणमा आउने उत्तम विकल्प भनेकै लकडाउन भएकोले भारत सरकारले लकडाउन बढाउँदै लग्ने सम्भावना छ । भारत सरकारको उक्त निर्णयलाई पालना गर्दै तपाईँ हामी जहाँ छौँ सोही स्थानमा सुरक्षित तरिकाले बस्नुहुन विशेष आग्रह गर्दछौँ ।

कोरोना भाइरस नियन्त्रणको लागि नेपाल सरकारबाट नै नेपाल-भारत सीमानाका बन्द गरेको अवस्थामा विभिन्न फेक न्युजबाट र व्यक्ति विशेषबाट नेपाल फिर्तीको लागि आएका गलत सूचनामा नलागी धैर्य भएर आआफ्नो स्थानमा बस्नुहुन विशेष अपिल गर्दछौँ ।

यति बेला अन्य मुलुकमा जस्तै भारतमा पनि तपाईँ हामी अत्यन्तै दुःख दायी अवस्थामा छौँ । हजारौँको सङ्ख्यामा नेपाली मजदुर विद्यार्थी विभिन्न पेसा कर्मीहरू यात्राको क्रममा विचबाटोमै अलपत्र छन् । उनीहरूको सकुशल उद्धारको लागि नेपाल सरकारबाट कुनै पहलकदमी भएको छैन ।

अलपत्र नेपालीलाई नेपाल सरकारले छिटोभन्दा छिटो उद्धार गरी १४ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य चेक जाँच गरी सकुशल आआफ्नो घर फिर्तीको लागि व्यवस्था मिलाइदिन
प्रगतिशील नेपाली समाज समिति भारत जोडदार माग गर्दछ । साथै दिल्ली स्थिति नेपाली दूतावासलाई उक्त कार्यमा महत्त्वपूर्ण भूमिका निभाइदिन विशेष ध्यानाकर्षण गराउदछौैं ।

हालै भारत सरकारले जारी गरेको थप तेस्रो चरणको लकडाउनले भारतमा अलपत्र नेपालीहरू झन् निराश बनेकाछन्, उनीहरूको अवस्थामा दिनानुदिन कठिन हुँदै गइरहेको छ। भारतका विभिन्न ठाउँबाट घर फिर्तीको लागि हिँडेका हजारौँ नेपाली मजदुर यतिखेर विभिन्न सहरहरूमा दु:खदायी जीवन बिताइरहेका छन् उनीहरूलाई यतिबेला विभिन्न समस्याले सताइरहेको छ।

नत राम्रोसँग बस्ने बास छ नत पेटभरि खानाको व्यवस्था छ, न उनीहरूको उद्धारको लागि कुनै ठाउँबाट पहलकदमी भएको छ । न नेपाल सरकारले कुनै विशेष पहल थालेको छ न दिल्ली स्थिति नेपाली राजदूतावासले कुनै भूमिका खेलेको छ । दुताबास मूकदर्शक भएर बस्नु बाहेक बाँकी कुनै पनि पहल गरेको देखिएको छैन । नेपालीहरू यतिखेर भारतमा कठिन अवस्थामा छन् उनलाई रोगले भन्दा भोकले मर्ने चिन्ताले सताएको छ ।