पछिल्ला अध्ययन र कोरोना भाइरससँगै बाँच्ने मोडेल « Himal Post | Online News Revolution
Logo

पछिल्ला अध्ययन र कोरोना भाइरससँगै बाँच्ने मोडेल



–डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ)

विश्वभरि नै हेर्दा नोभेल कोरोना भाइरसले लाग्ने कोभिड-१९को महामारी सुस्ताएको छैन। कुनै क्षेत्रमा घटेको संकेत देखिए पनि अर्को क्षेत्रमा द्रुत गतिमा फैलिएर लगातार बढिरहेको छ। महामारी चीनमा सुरु भयो र त्यहाँबाट बढी आवतजावतका कारण दक्षिण कोरिया, जापान, युरोप र त्यसपछि अमेरिकामा पुग्यो। यसरी कोभिड-१९को पहिलो लहर एसिया, युरोप र उत्तर अमेरिकाका राम्रा स्वास्थ्य संरचना भएका मुलुकमा देखा परेकोले त्यहाँ राम्रै जाँच र पहिचान हुन सकेको छ। यिनै मुलुकमा पनि जाँच्ने साधनको सीमितताले निश्चित मापदण्ड पुगेका बिरामीलाई मात्र जाँचिदा यो संख्या देखिएको हो। वास्तवमा यसको संख्या अझ ठूलो हुन सक्ने आँकलन गरिएको छ। अहिले कोभिड-१९को महामारी मध्यम र निम्न आय भएका मुलुकमा सरेको अवस्थामा यसको पूरै प्रभावित जनसंख्या अहिले देखिएकोभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ।

सत्य कुरा के हो भने अहिले कोभिड-१९ संसारका १८८ भन्दा बढी देशमा फैलिसकेको बताइएको छ र फरक फरक देशमा यो रोग फैलिने गति पनि फरक छ किनभने यसको प्रसार कुन देशमा कहिले र कसरी प्रवेश गर्छ, त्यहाँको भौगोलिक, जनसांख्यिक अवस्था कस्तो छ र सम्वन्धित मुलुकले रोग नियन्त्रण गर्न कस्ता विधि अवलम्बन गर्दछ आदि कुरामा निर्भर गर्दछ।

सिमित जाँच र प्रयासको अवस्थामा नेपाल कहाँ छ त?

यो लेख लेख्दै गर्दाको अवस्थामा नेपालमा कोरोना संक्रमण ५२ जिल्लामा भेटिएको छ। ६४१५४ जनाको पिसिआर टेस्ट भएको छ र १२१२ संक्रमित व्यक्ति फेला परेका छन्। यो भनेको टेस्ट भएका मध्ये लगभग २% मा संक्रमण देखिएको हो। अहिलेसम्म प्रमाणित संक्रमितमध्ये झन्डै 0.५ प्रतिशत मात्रको मृत्यु भएको छ। तर जाँचको सिमितता र भर्खरैमात्र संक्रमितहरु देशमा भित्रिएको तथ्यलाई ध्यान पु-याउँदा संक्रमितको संख्या र दर अझै बढ्ने निश्चित छ। यो कुरा राम्ररी मनन गर्नुपर्दछ कि नेपालमा कोभिड-१९ सुरुको चरणमा छ र जब महामारी बढ्दै जान्छ मृत्यु दर पनि बढ्दै जान्छ।

कोभिड-१९ जस्ता नयाँ महामारी फैलिँदा यसलाई नियन्त्रण गर्ने हामीसँग मुख्य गरेर ३ वटा विकल्प रहन्छन्: १. जे छ त्यसरी नै चलिरहनु र यसो गर्दा रोग प्राकृतिक हिसाबले फैलिन्छ, केहीको ज्यान जान्छ र यो चलिरहनु २. महामारी नियन्त्रण गर्न वा रोग सर्न नदिन मानिसको सम्पर्क घटाउनका लागि लक्डाउन गर्नु ३. परिक्षण र अनुभवसिद्ध जनस्वास्थ्यका विशेष विधिहरु अपनाउनु।

“जे छ त्यसरी नै चलिरहनु” जस्तो पहिलो विकल्प दोस्रो र तेस्रो विकल्पले मुलुक र संसारमै नराम्ररी आर्थिक र सामाजिक असर पर्छ भन्नेहरुले वकालत गर्दछन् । यसका पक्षधरहरुले जे छ त्यसरी चलिरहने हो भने चांडै नै “हर्ड इम्युनिटी” अर्थात् “सामुहिक प्रतिरोध क्षमता” प्राप्त हुन्छ र महामारी रोकिन्छ भन्ने विश्वास गर्दछन्।

हर्ड इम्युनिटी भनेको के हो?

कुनै रोगप्रति ‘हर्ड इम्युनिटी’ अर्थात् सामुहिक प्रतिरोध क्षमता भनेको कुनै निश्चित ठाउँमा जनसंख्याको ठुलो अनुपातको जनसंख्यालाई उनीहरुलाई लगाइएको खोपको माध्यमबाट वा त्यो रोगको प्राकृतिक संक्रमणबाट रोगप्रति प्रतिरोधक भएमा बाँकी रहेको सानो अनुपातको जनसंख्यालाई अप्रत्यक्ष सुरक्षा प्रदान गर्छ भन्ने अवधारणा हो। तर त्यो सानो जनसंख्या अझै पूरै खतरामुक्त भने हुँदैन। कति जनसंख्यामा खोप लगाइएमा वा प्राकृतिक संक्रमण भएमा हर्ड इम्युनिटी प्राप्त हुन्छ भन्ने कुरा रोग विशेष कति संक्रामक छ त्यसमा निर्भर गर्दछ। अर्थात् यो आर नट (रोगको आधारभूत प्रजनन दर) मा भर पर्दछ। जस्तै, आर नट २ हुने रोग (एउटा व्यक्तिले २ जना व्यक्तिलाई सार्ने रोग) भएमा कम्तिमा ५०% लाई खोप लगाउन सकेमा वा प्राकृतिक हिसाबले संक्रमण पुगेमा हर्ड इम्युनिटी प्राप्त हुन्छ। त्यस्तै, कोभिड-१९ को आर नट ३ मानिएको छ र यसैलाई लिँदा (एउटा व्यक्तिले ३ जना व्यक्तिलाई रोग सार्ने) कम्तिमा ६७ प्रतिसतमा खोप पुगेमा वा संक्रमण पुगेमा हर्ड इम्युनिटी प्राप्त हुन्छ।

यदि हामीले केही नगरी हर्ड इम्युनिटीमा जाने निर्णय ग-यौं भने कोभिड-१९को अहिलेसम्म खोप नभएकोले र चाँडै पत्ता लाग्ने सम्भावना पनि नभएकोले नेपालको सन्दर्भमा कुरा गर्दा लगभग २ करोड जनतालाई संक्रमण भएमा हर्ड इम्युनिटी प्राप्त हुन्छ। अहिले सुरुको अवस्थामा नेपालमा देखिएको मृत्यु दर (0.५%) ले हेर्दा यस हिसाबले १ लाख व्यक्तिको मृत्यु हुने सम्भावना हुन्छ। विश्वमा देखिएको दरबाट हेर्दा पनि २ करोड मानिसलाई संक्रमण हुँदा ४ लाख जनालाई (२.०%) सिकिस्त पार्न सक्छ र १ लाखको मृत्यु (१ .0% संक्रमण मृत्यु दर) हुने सम्भावना हुन्छ। नेपालको सहरी जनसंख्या ५५ लाख मान्दा हर्ड इम्युनिटी प्राप्त गर्न ३७ लाख मानिसलाई संक्रमण हुनुपर्दछ। विश्वको औसत दरले हिसाब गर्दा ७४ हजार जनालाई सिकिस्त पार्न सक्छ र ३७ हजारको मृत्यु हुने सम्भावना हुन्छ। त्यसैले यस्तो अवस्थामा हर्ड इम्युनिटीमा जाने नीति सरकारले लिन सक्दैन र नैतिकता र मानवीय दृष्टिकोणबाट पनि उचित ठहर्दैन। त्यसैले के भन्न सकिन्छ भने हर्ड इम्युनिटीमा जान खोप भएमा मात्र सम्भव र उचित छ। त्यसकारण खोप पत्ता नलागेसम्म रोगलाई नियन्त्रणमा राख्न अन्य उपाय अपनाउनु पर्छ ।

लक्डाउन

दोस्रो विकल्प भनेको नेपालमा दुई महिनाभन्दा अघिदेखि सरकारले लगाएको राष्ट्रव्यापी लक्डाउन विधि हो। अहिले यसको नतिजा हेर्दा सरकारले लगाएको लक्डाउनको प्रभाव दैनिक मजदुरी गरेर खाने समुह र निम्न आय भएका व्यक्तिलाई प्रत्यक्ष रुपमा देखिइ सकेको छ भने देशको अर्थतन्त्रका आधार स्तम्भलाई पनि लक्डाउनले हल्लाई सकेको छ। यस्तो बेला कतिपयले अब लक्डाउन हटाएर यसको विकल्पको रुपमा हर्ड इम्युनिटी अर्थात् सामुहिक प्रतिरोध क्षमता विकास गर्न पहिला जस्तै सबै कुरा खुला गरेर सामान्य ढंगले निस्फिक्री भएर चल्नुपर्छ पनि भनेका छन्। वास्तवमा लक्डाउनका विरोधीहरुले हर्ड इम्युनिटी प्राप्त गर्ने बाटोमा लाग्दा यसबाट हुने मानवीय क्षतिको आँकलन नगरिकन वा नबुझीकनै यसको वकालत गरेका छन्। हो, सधैँ लक्डाउन सम्भव छैन । यसको समिक्षा हुनै पर्दछ र विकल्प खोज्न पर्दछ।

अब के गर्ने त?

तथ्य भनेको तथ्य हो। संख्या जे छ त्यही हो। भाइरसले जे गर्नु छ त्यही गरिरहेको छ। अर्थात् भाइरसले संक्रमण गर्नलाई अर्को व्यक्ति फेला पारेर आफू (भाइरस) बाँच्नलाई वातावरण खोजिरहेको छ, सफल भएको छ र यसले खोप पत्ता नलागेसम्म सफलता पाइरहने छ। अर्कोतर्फ यस्तो अवस्थामा मानिसले सधैँ घरैभित्र कोच्चिएर बसेर पनि सम्भव हुँदैन। पूर्ववत् जीवनमा त विस्तारै फर्कनै पर्छ। त्यसको लागि हामीले भाइरससँगै बाँच्ने निर्णय गरेर सुरक्षित रहन सिक्नु पर्छ। भाइरससँगै बाँच्ने भनेको भाइरस सर्ने बस्तु र माध्यमलाई निर्धक्क चलाएर वा खेलाएर प्रलयको बाटो हिंड्ने भनेको हुँदै होइन। भाइरसले हामीलाई आक्रमण गर्ने तरिकाबाट तर्किन सकिने हामीसँग भएका क्षमता र उपाय छन्। अव सावधान भएर ती विधि अवलम्बन गर्ने हो। यसको लागि हामीले अब नयाँ मोडेल अपनाउनु पर्छ: त्यो भनेको त्यस्रो विकल्प हो। यो नयाँ मोडेल अहिलेको जस्तो सरकारले लगाएको एकतर्फी लक्डाउनमा पुलिसले देखेर कारवाही गर्छ कि भनेर घरभित्र बस्नेभन्दा फरकहुनुपर्छ। अब नयाँ मोडेलमा भाइरसलाई नियन्त्रण गर्ने जिम्मेवारी सरकारको मात्र नभएर हर नागरिकको काँधमा हुनुपर्छ। यो नयाँ मोडेलको सफल कार्यान्वयनको लागि प्रत्येक नागरिकले पछिल्ला वैज्ञानिक अध्ययन अनुसार कोरोना भाइरस कसरी सर्दछ भन्ने बारे राम्ररी बुझ्नु आवश्यक छ।

पछिल्ला वैज्ञानिक अध्ययन अनुसार कोरोना भाइरस कसरी सर्दछ?

कोरोना भाइरसले मानिसलाई गराउने भनेको रोग श्वासप्रश्वासको संक्रमण हो। कोरोना भाइरसबाट श्वासप्रश्वासको संक्रमण हुने बाटो मुख्य गरेर दुईवटा छन्।

पहिलो हो, सोझै संक्रमितले फेरेको सास हामीले सास लिँदा हाम्रो नाख वा मुखबाट भित्र गएर ।पहिलाका श्वासप्रश्वासको संक्रमणबाट हुने रोगहरुबाट बच्नका लागि संक्रमित व्यक्ति खोक्दा वा हाछ्यू गर्दा निस्किने ससाना छिटाबाट जोगिने उपायमा मात्र केन्द्रित भएका छन्। तर पछिल्ला अध्ययन अनुसार कोभिड-१९को संक्रमणको कथा अल्लि फरक पाइएको छ। यो रोग लक्षण नै नदेखिएका व्यक्ति पनि संक्रमित हुन सक्ने र यस्ता व्यक्तिले सास फेर्दा वा बोल्दा निस्किने एरोसोल (फालिएको सासमा मिसिएका भाइरस बोकेका कण) हावामा केही समयसम्म तैरिरहने र यो हावा स्वस्थ मानिसले लिँदा हावासंगै यी भाइरस बोकेका एरोसोल पनि सासबाट फोक्सोमा जाँदा सास लिने व्यक्ति संक्रमित हुन सक्दछ। यसरी श्वासप्रश्वासको संक्रमण हुने भनेको मुख्य गरेर संक्रमित मानिसले सास फेर्दा, बोल्दा, खोक्दा र हाछ्यू गर्दा नाक, मुखबाट निस्किने भाइरस बोकेका धेरै साना छिटाहरु र एरोसोल (हावामा मिसिएका कण) स्वस्थ मानिसको नाख, मुख, आँखाबाट फोक्सोमा पुगेर हुने हो ।

दोश्रो हो, संक्रमित व्यक्तिले विभिन्न तरिकाले भाइरस पु-याएका सतहलाई स्वस्थ व्यक्तिले हातले छोएर तिनै हातले भाइरसलाई नाक मुखमा पु-यारेर । जस्तै संक्रमित व्यक्तिले आफ्ना नाक, मुखबाट निस्केका रस लागेका हातले छोएका ढोकाका हेन्डल, टेबल, कलम आदिमा भाइरस हुनसक्छन् र यिनै बस्तु अर्को व्यक्तिले छुँदा त्यो व्यक्तिका हातमा भाइरस टाँसिएर आउन सक्छन् र त्यो व्यक्तिले नाक, मुख, आँखा छुँदा भाइरस भित्र पस्न सक्दछन्। अर्को कुरा, भाइरस वातावरणमा भएको धुलो र प्रदुषणका कणमा टाँसिएर पनि उड्न सक्दछन् र हामीले सास लिँदा हामी भित्र प्रवेश पाउँछन्।

अब नयाँ मोडेलको आवश्यकता

सुरुमा संसारभरि धेरै मुलुकले लक्डाउन गरेर केही समयमा भाइरस आफै हराउँछ कि भनेर, विकसित र धनी देशले लक्डाउनको बेलामा अस्पताल र अस्पतालमा चाहिने सुविधा थप्नलाई समय प्राप्त गर्न लक्डाउन विधि अवलम्बन गरे। कोरोना विरुद्धको लडाईं विश्वभरिका लागि नयाँ र अप्ठ्यारो अवस्था थियो र अझै छ। नेपालले ठिक समयमा लक्डाउन अपनाएकोले काठमाडौँ जस्तो ठूलो जनसंख्या भएको सहरमा बाहिरबाट संक्रमण भित्रिन पाएन र अझै सुरक्षित छ। तर पछिल्लो समयमा नेपालले भारतसँग सम्वन्ध सुमधुर राख्न नसक्दा सिमा लक्डाउन प्रभावकारी भएन र देश भित्रिएका नागरिकलाई सिमा क्षेत्रमा नै व्यवस्थित क्वारेन्टिन बनाएर राख्न सकेन। अब नेपालमा लक्डाउनको प्रभावकारी प्रयोजनको औचित्य देखिदैन। त्यसो त विदेशमा पनि यस्तै मिश्रित अनुभवहरु छन्। त्यसकारण सरकारले गरेका प्रयास गलत र ठिक भनेर वादविवाद गरेर समय नष्ट गर्नुभन्दा पनि अनुभवबाट सिक्दै अगाडि बढ्ने हो। वैज्ञानिक अध्ययनले पुष्टि गरेका तथ्य र उपायलाई अवलम्बन गर्ने हो। एउटा मुलुक वा एउटा कुनै स्थान विशेषलाई सफल भएको विधि अर्को ठाउँलाई पनि सफल हुन्छ भन्न सकिन्न। प्रत्येक देशले आआफ्नो देशको अवस्था हेरेर रणनीति बनाउनु पर्छ ।

जस्तै, नेपालमा अहिलेकै दरमा संक्रमण बढ्दै गएमा अबको एक महिनामा संक्रमितको संख्या १० हजारभन्दा बढी पुग्ने देखिन्छ। यो भारलाई थेग्न नेपाल सरकारकै स्टेटमेन्ट अनुसार अस्पतालमा पुग्दा आइसोलेशन बेड छैनन्। अब सरकारले वैज्ञानिक र ठिक सूचना दिनुपर्छ, जनतालाई कठिन छनौट दिनुपर्छ र जनतालाई ठिक कुरा अपनाउन लगाउनु पर्दछ। नीतिनिर्माता र निर्णयकर्ताले बुझ्नु पर्ने गम्भीर कुरा के हो भने रोग र यसबाट मृत्य हुने जोखिम देश र समयअनुसार फरक फरक हुन्छ। रोगको संक्रमण र यसबाट हुने मृत्यु र अरुबाट (भोकमरी, अन्य रोगको उपचार नपाएर आदि) हुने मृत्युलाई पनि दाँज्न पर्ने हुन्छ। यसकारण अब अध्ययनहरुले पत्ता लगाएका तथ्य र ज्ञानको आधारमा अब नयाँ मोडेलमा जानु पर्ने देखिन्छ ।

अबको नयाँ मोडेलमा अपनाउनु पर्ने सावधानी र उपायहरु

कोभिड-१९बाट जोगिन विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्दा ६ फिटको दुरी राख्न सुझाएको कुरा १९३०को दशकमा गरेको श्वासप्रश्वासको संक्रमणबारे गरिएको अध्ययनमा आधरित छ। तर पछिल्ला अध्ययनले कोभिड-१९को भाइरस कोठाभित्रको हावाको एरोसोलमा घन्टौं रहन सक्ने र ६ फिटभन्दा निकै टाढासम्म पनि पुग्न सक्ने देखाएको छ। यसरी एरोसोलहरु हल र कोठाभित्र घन्टौंसम्म तैरिएर जम्मा रहन सक्दछन् र हामीले त्यहाँ सास लिँदा हाम्रो फोक्सोमा सजिलै पुग्न सक्दछन् ।

तर के बुझ्न आवश्यक छ भने सबै सम्पर्कहरु उत्तिकै जोखिमयुक्त हुँदैनन् । सम्पर्कबाट संक्रमणको जोखिम कतिजना व्यक्ति कुनै काममा संलग्न वा सहभागी छन् (जति बढी उति बढी जोखिम), कति लामो समयसम्म सहभागी छन् (जति लामो समय उति नै बढ़ी जोखिम), कस्तो ठाउँमा सहभागी छन् (जति साँघुरो ठाउँ वा बन्द र हावा नचल्ने ठाउँ/कोठा उति बढी जोखिम) जस्ता कुरामा निर्भर गर्दछ ।
त्यसैले लक्डाउनपछि समाज पुर्ववत् कामकाजमा फर्किंदा एरोसोल फैलिने तरिका बुझेर भाइरस बोकेको एरोसोलको माध्यमबाट हुने संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्नै पर्दछ।
१. यसको लागि अब सबैले सही तरिकाले सुरक्षित मास्क लगाउने गर्नै पर्दछ। मास्कको बारे कुरा गर्दा सही तरिका र सुरक्षित मास्क महत्वपूर्ण कुरा हुन्। सही तरिका भनेको नाक र मुख पूरै राम्ररी छोपिने गरी टपक्क टाँसिने गरी लगाउनु हो। सुरक्षित मास्क भन्नाले श्वासप्रस्वास गर्दा नाकमुखबाट निस्कने ससाना छिटाहरुलाई सकेसम्म रोक्न सहयोग गर्ने मास्कहरु हुन्। यसको लागि राज्यले न्युनतम् मापदण्ड बनाएर मास्क बनाउने बजारियालाई निर्देशन गर्न सक्दछ।

२. कोरोनाको पिसिआर टेस्ट रोकिनु हुँदैन। कोरोना टेस्ट लगातार गरिरहने र टेस्टबाट पत्ता लागेका तर लक्षण नदेखिएका संक्रमितलाई आइसोलेशनमा राख्नै पर्छ। अध्ययनले के देखाएको छ भने चीनको वुहान सहरमा ७९% संक्रमण सम्भवत: लक्षण नदेखिएका व्यक्तिले फैलाएका थिए। त्यसैले टेस्ट गरिरहनु पर्दछ। फेरि टेस्टको अभावमा लक्षण नदेखिएका संक्रमित व्यक्ति जहाँ र जहिले पनि हुन सक्दछन्। त्यसैले मास्क लगाउन अति आवश्यक छ। तर नेपालमा हुने गरेको -यापिड टेस्ट (एन्टी-बडीटेस्ट)को उपयोगिताबारे भने छलफल हुनै पर्छ।

३. सडक, कार्यालय, कारखाना, निर्माण स्थल आदिमा मास्क लगाएर सम्भव भएसम्म लामो सामाजिक दुरी अपनाएर काम गर्नु पर्दछ।

४. समाजका प्रत्येक जाने बुझेका व्यक्ति, शिक्षक, सामाजिक नेता, राजनीति गर्ने नेता, कलाकार, खेलाडी, समाजसेवीहरुले सामाजिक दुरी कायम गरेर, मास्कको सही र सुरक्षित तरिका अपनाएर “रोल्मोडेल” अर्थात् अनुकरणीय व्यक्ति बनेर समाजमा प्रदर्शित हुनु पर्दछ। महाभारतमा श्रीकृष्णले कर्मयोगको सिलसिलामा अर्जुनलाई भनेका छन्: “यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः। स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते॥” अर्थात् उच्च पदमा बस्ने वा समाजलाई नेतृत्व दिने व्यक्तिले गरेका कर्मलाई लोकले पछ्याइरहेको हुन्छ भन्ने बुझ्नुपर्छ। समाजमा श्रेष्ठ मानिएका व्यक्तिले वा समाजलाई बाटो देखाउने नेताले प्रदर्शन गरेका व्यवहार र स्थापित गरेका क्रियाकलाप सर्वसाधारणको निम्ति उदाहरण बन्दछन् । सबैभन्दा दु:ख लाग्दो कुरो के देखिन्छ भने समाचारका फोटोमा र टिभीका दृश्यमा धेरैपटक देखिने राजनीति गर्ने नेताहरुले नै जनतालाई गलत सन्देश दिइरहेको पाइन्छ। ६ फिटभन्दा पनि कम दुरीको हुलमा उभिएको पाइन्छ; राहत आदि बाँड्दा तस्बिर हेर्नेले वा टिभी हेर्नेले नचिन्लान् भन्ने मानसिकताले मुखमुनि चिउँडोमा मास्क सारेका हुन्छन् वा कसैले त फोटो खिचाउन मास्क घाँटीमा सारेका हुन्छन्। बुझ्नु पर्ने कुरा के हो भने समाजमा रहेका यी ठूला व्यक्तिलाई अरुको भलाइका लागि यी नयाँ मोडेलका नियम पालना गर्न मन लाग्दैन भने पनि स्वार्थी बनेर आफ्नै वा आफूले वास्ता र माया गर्ने व्यक्तिका लागि भए पनि नियमको पालना गर्नु आवश्यक छ। आफूलाई नचाहिँदो र जोखिमयुक्त व्यवहार प्रदर्शन गर्ने लहड चले पनि घरमा भएका बूढा बा, आमा, श्रीमती/श्रीमान, साना अवोध बालबालिका बिरामी परे के होला भन्ने सम्झेर उनीहरुको मायाले भए पनि होसियारी अपनाउनु आवश्यक छ।

५. फेरि कसैलाई अरुले आफूलाई भाइरस सारिदिएको मन पर्दैन भने आफूले पनि सामाजिक दुरी कायम नगरिदिएर अरुलाई सारिदिनु भएन। अब खोप पत्ता नलागेसम्म यस भाईरसबाट बच्न सामाजिक दुरी कायम राख्नै पर्छ ।

६. सार्वजनिक स्थलमा देखिइरहने अनुकरणीय व्यक्तिहरुले ख्याल गर्नु पर्ने अर्को कुरा उनीहरुले नाक कोट्याउने, मुख मुसार्ने, आँखा मिच्ने, कपाल स्याहार्ने जस्ता असुरक्षित बानी आफ्नै लागि र अरुलाई सिकाउन पनि बन्द गर्नु पर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिने, विशेष गरेर नधोएका हातले नाक, मुख, आँखा छुँदै नछुने र केही शंकास्पद बस्तु वा घर बाहिरका व्यक्तिलाई छोएपछि हात धुने काम अबको दिनमा स्वस्थ भएर बाँच्ने नयाँ मन्त्र हो।

७. भिडभाड हुने ठाउँ (रेस्टुरेन्ट, होटेल, सभा, शपिङ् मल, सिनेमा, सार्वजनिक यातायात, स्कूल, कलेज) सकेसम्म सन्चालनमा नल्याउने र ल्याइएको पाइए पनि व्यक्तिगत हिसाबले आफू ती ठाउँमा नजाँदा सुरक्षित हुन सकिन्छ। स्कूल/कलेज बाहेक अरु ठूला भिड हुने ठाउँहरु गाउँमा धेरै नहुने भएकोले अब लक्डाउन हटाइएको अवस्थामा सजगता अपनाएमा सहरभन्दा गाउँ धेरै सुरक्षित छन्। अब त्यसो भए गाउँमा स्कूल कलेज खोल्ने कि नखोल्ने त? यो कुरा राज्यले पूरै मुलुकको लागि एकै खाले निर्णय गर्नुभन्दा पनि स्थानीय तह (नगरपालिका/गाउँपालिका) ले आफ्नो वास्तविकता र क्षमता अनुसार निर्णय गर्नु उचित हुन्छ। शिक्षक र विद्यार्थीलाई सामाजिक दुरी, हातको सरसफाइ र सही तरिकाले सुरक्षित मास्क लगाउने आदि कुराको पालना गराउन सकिँदैन भने स्कुल/कलेज नचलाउँदा राम्रो। किनभने स्कुल र कलेज भनेका कुनै गाउँ ठाउँका प्रत्येक घरधुरीलाई सजिलै प्रत्यक्ष सम्पर्क गराउने एकमात्र स्थल हुन्। एउटा गाउँ/ठाउँको एउटा घरमा भएको संक्रमण त्यो घरबाट स्कुलमा आउने विद्यार्थीबाट गाउँभरिलाई संक्रमण फैलिने ठूलो सम्भावना हुन्छ किनभने भोज वा चर्चमा पुगेको एउटा संक्रमित तर लक्षण नदेखिएको व्यक्तिले त्यहाँ उपस्थित भएका अधिकांशलाई सारेको वैज्ञानिक अध्ययनबाट पुष्टि भैसकेको छ। बुझ्नु पर्ने कुरो के हो भने ६-८ महिना स्कुल नचल्दैमा आकासै खस्दैन, अर्थतन्त्र तहसनहस हुँदैन, कृषि उत्पादन घट्दैन; र सिकाइमा पनि त्यति ठूलो फरक पर्दैन। यो नेपाललाई मात्र परेको संकट होइन। यसको असर संसारभरिका देशमा छ। संसारका कयौँ मुलुकमा यो बर्षभरि नै (डिसेम्बरसम्म) स्कूल खोल्न नसकिने आंकलन गरेका छन्। इबोला भाइरसको संक्रमणको बेला पश्चिमअफ्रिकामा स्कुलहरु ८ महिनासम्म बन्द भएका थिए। त्यहाँ खासै ठूलो असर नपरेको अध्ययनले नै देखाएको थियो। त्यसो त हाम्रा गाउँघरका स्कुल कति महिना गम्भीर रुपले खुल्छन् र राम्ररी पढाइ हुन्छन् सबैलाई थाहा भएकै कुरो हो। स्कुल खुलेपछि यति बेला भएको समयको क्षति सिकाइको उचित तरिका अपनाएमा पछि ढुक्कको समयमा पूर्ति भइहाल्दछ।

अन्त्यमा फेरि दोहो-याएर भनौँ: अबको नयाँ मोडेलमा प्रत्येक व्यक्तिले भिडभाड, सामुहिक भेटघाट आदि गर्न पूर्ण रुपमा बन्द गर्नुपर्छ; सामाजिक दुरी कायम गर्नै पर्छ; मुखमा मास्क र आवश्यक परे थप प्लास्टिकका पारदर्शी पर्दा लगाउनु पर्छ र हातको पटक पटक सरसफाइमा ध्यान पु-याउनै पर्छ ।
अहिलेसम्म कोभिड-१९बाट जोगिन न खोप छ न त औषधी नै। हामीले माथि चर्चा गरेका उपायले नेपालमा महामारीलाई नियन्त्रण गर्न सघाउ पुग्नेछ र यसको लागि सर्वसाधारण मानिसले आफू, आफ्नो परिवार र समुदायलाई स्वस्थ र सुरक्षित राख्न मुख्य भूमिका खेल्नै पर्दछ।