एमालेलाई र तीन ठुला पत्रिकालाई निर्वाचन आयोगले काट्यो पत्र (पत्रसहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेलाई र तीन ठुला पत्रिकालाई निर्वाचन आयोगले काट्यो पत्र (पत्रसहित)



काठमाडौं ।

निर्वाचन आयोगले पार्टी अध्यक्ष केपी ओलीको तस्वीर राखेर मूलधारका ठूला पत्रिकामा विज्ञापन छापेको भन्दै एमाले पार्टीसहित पाँच वटा दैनिकलाई स्पष्टिकरण सोधेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर एमाले र विज्ञापन छाप्ने पत्रिकालाई स्पष्टीकरण सोधेको हो । विज्ञप्तिमा एमालेलाई पत्र नै काटेको र पत्र पाएको २४ घण्टाभित्र स्पष्टीकरण पेश र्ग भनेको छ ।

अर्को बुँदामा आचारसंहिता विपरीत विज्ञापन छाप्ने पत्रिकाको नामै उल्लेख गरेर एमाले अध्यक्ष ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनि विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको, उल्लेख छ ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन भन्दै मंगलबार मात्रै आयोगमा उजुरी परेको थियो ।

काठमाडौं महानगर–३२ का अमृत कार्कीले हालेको उजुरीमा निर्वाचन आचारसंहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताको लागि बामपन्थी सरकार १” भन्ने सन्देश सहित छापिएको  विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएको उल्लेख छ ।

उजुरीमा आचारसंहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४–४ वटा राष्ट्रिय दैनिकमा एकै चोटी विज्ञापन गरी एमालेले निर्वाचन आचारसंहिता विपरीत काम गरेकाले अविलम्ब कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको थियो ।