नारायणकाजीको ट्वीटले नेकपाभित्र हङ्गामा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नारायणकाजीको ट्वीटले नेकपाभित्र हङ्गामा



काठमाडौं- पछिल्लो १२ घण्टामा नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका दुई वटा ट्वीटले नेकपामा हङ्गामा भएको छ । उनले लेखेका ट्वीटमा पार्टीमा फेरी संकट आउन सक्ने र नेतृत्वबाट सहमति कार्यन्वयन हुन नसकेको भाव देखिन्छ ।

शनिबारको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले भएका सहमति कार्यन्वयन गर्न नखोजेको संदेश सहित प्रेसित ट्वीटले नेकपामा अहिले हङ्गामा नै मच्चिएको छ । नेकपाकै एक नेताका अनुसार उनका ट्वीट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित हुन् ।

सोमवार मध्यरातमा श्रेष्ठले ट्वीट गरे, जसमा लेखिएको छ, ‘अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ । अतःअन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, बिधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प–यो हो निश्कर्ष।’

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सोमवार दिउँसो घनिभूत छलफल भएको भनिएकै दिन उनको आशंका सहितको ट्वीटले नेकपाका नेता शनिवारको सचिवालय निर्णय कार्यन्वयनलाई लिएर सकरात्मक छलफल नभएको टिप्पणी भैरहदा प्रवक्ता श्रेष्ठको यो ट्वीट आएको थियो ।

उनले यस्तो बताईरहंदा उनकै निवासमा सोमवार विहान पनि उनीसहित अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले गोप्य बैठक भएको खबर बाहिरिएको थियो । फेरि १२ घण्टा नवित्दै प्रवक्ता श्रेष्ठले मंगलवार विहान अर्को ट्वीट गरे ।

पछिल्लो पटक उनले गरेको ट्वीटमा भनिएको छ, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं । अन्यथा नगरौँ ।’

उनका लगातार आएका अभिव्यक्तिले पार्टीमा निकै समस्या रहेको र सचिवालय बैठकको सहमतिले त्यस्ता बिषयमा सम्बोधन नभएको बुझिन्छ । शनिबारको बैठकबाट पार्टी टुक्रिनबाट जोगिएको आंकलन गरिएको थियो भने अहिले पार्टीभित्र नेता देखि कार्यकर्तामा संसय उत्पन्न भएको छ ।