केपी ओली विश्वकै अहंकारी नेता: गगन थापा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

केपी ओली विश्वकै अहंकारी नेता: गगन थापा



काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ द्वारा बुधबार आयोजित ‘श्रमिकमा कोभिड–१९ संक्रमणको जोखिम र सुरक्षाका उपायहरु’ विषयक भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली संसारकै अहंकारी प्रधानमन्त्री भएको बताएका छन् ।

सरकार जनस्वास्थ्यमाथि चरम खेलवाड गरिरहेको भन्दै थापाले यस्तो बताएका हुन् । उनले नागरिकको सुरक्षा, रोजगारी गुमाएका युवाको समस्या र दैनिक छाक टार्न गाह्रो भएका श्रमिकको समस्या छोडेर कुर्सीको लडाइँ, मन्दिर, धर्म र खोक्रो राष्ट्रवादको नारा, कुनै निरंकुश शासकले पनि गर्न नसक्ने ठोकुवा गर्दै नेकपा नेतृत्वको सरकारमा संवेदना नै नरहेको बताए ।

उनले नेपालमा कोरोना संक्रमण नहुँदै नागरिकको सुरक्षाका लागि आफू र विज्ञहरुले पटक–पटक सुझाव दिए पनि बेवास्ता गरी संसारकै जान्ने बुझ्ने आफूमात्रै हुँ भन्ने प्रधानमन्त्रीको अहंकारले विषम् परिस्थिति सृजना भएको आरोप लगाए ।

“सरकार जनस्वास्थ्यमाथि चरम खेलवाड गरिरहेको छ । महामारी हाम्रो नियन्त्रणमा हुँदाहुँदै पनि सरकारको अकर्मण्यता र संवेदनहिनताले स्थिति तनावपूर्ण बन्दै गइरहेको छ,” थापाले भने, “अहिले कोभिड–१९ बाट मृत्यु भएका मध्ये दुई–तीन जनाबाहेक अरु सबै सरकारको लापरबाहीले मृत्यु भएको हो । त्यसैले यो मृत्यु नभइ प्रधानमन्त्रीको अहंकारले हत्या भएका हुन् । यस्तो अवस्थामा समेत स्वास्थ्य मन्त्रालयले केही गर्न नसक्नु, लाचार देखिनु दुर्भाग्य हो ।”

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकार श्रमिकप्रति अत्यन्तै असहिष्णु रहेको बताए । लामो समयको लकडाउनमा समेत श्रमिकलाई राहत दिनु त कता हो कता, कसरी बाँचिरहेका होलान् भन्ने समेत ख्याल नगर्दा आफू आश्चर्य चकित भएको बताए ।

आचार्यले सरकार आफूले गरेको निर्णयसमेत लागु गर्न नसक्दा पारिश्रमिक लगायतका मुद्दाहरुमा ट्रेड युनियन र रोजगारदाता मिलेर सम्झौता गरेको उल्लेख गर्दै सम्झौताप्रति रोजगारदाता पनि इमानदार नदेखिएको आरोप लगाए । चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्ति श्रेष्ठले कोरोनाको संक्रमण समुदायस्तरमै फैलिसकेकाले श्रमिक वर्गसमेत संक्रमणको उच्च जोखिममा रहेका कारण विश्व स्वास्थ्य संगठनको सुरक्षा प्रोटोकल अनुशरण गर्न सुझाव दिए ।