झन् बलियो बन्दै ओली, झन् फस्दै प्रचण्ड « Himal Post | Online News Revolution
Logo

झन् बलियो बन्दै ओली, झन् फस्दै प्रचण्ड



काठमाडौं- अध्यक्ष केपी ओलीले नेकपा फुटाउने कुनै सम्भावना तत्काल देखिँदैन । किनकी उनी पार्टी र संसद्भित्र अल्पमतमा भए पनि सबैभन्दा शक्तिशाली छन् । उनी सबैतिर अल्पमतमा छन् ।

भन्नुको मतलव हो, पार्टीको निर्णयअनुसार कुनै पनि पदबाट कुनै पनि बेला निकाल्न सकिने पोजिशनमा छन् । उनी सहमतिबाट बनेको अध्यक्ष र प्रधानमन्त्री भएकाले असहमतिमा हटाइनसक्ने कुनै नयाँ विषय होइन ।

प्रचण्ड, नेपाल, खनाल, गौतम, नारायणकाजीलगायत हेभिवेट नेतासहित सबैतिरको बहुमतले दुबै पदबाट राजीनामा माग्दा समेत टसकोमस भएका छैनन् । बरु, पार्टीले आफूलाई कारबाही गरे देखाई दिने धम्की दिएका छन् ।

यस्तो अवस्थाले ओलीलाई झन मनोगत रूपमा बलियो बनाएको छ । अर्कोपक्ष झनै अकर्मण्यतामा फसेजस्तो देखिन्छ । यस्तोमा ओलीले पार्टी फोड्ने सवालै आउँदैन ।

आफू शक्तिशाली भइरहेको र सत्तामा एकछत्र रहेका बेला कुन दशाले कुतकुत्याएको छ र पार्टी फुटाई एउटा सानो चोइटो लिएर कांग्रेसका देउवाको भर पर्न ! कुनै उपाय नभै सिद्धिने अवस्था आएको भए पो पायक पर्ने अध्यादेश ल्याएर टाउको सुरक्षित पार्नु ! बहुमतलाई दाइँको गोरु जस्तो फनफनी घुमाएर शासन गर्न पाएपछि किन पार्टी फुटाउने ?

कार्यकारी अध्यक्षको हैरानी
सरकार पार्टीले बनाउने भएकाले पार्टीको निर्देशन सरकारले मान्नुपर्ने मान्यता हो । पार्टीको निर्णय र निर्देशन नमाने सरकारबाट फिर्ता बोलाउने अवस्था हुन्छ । अहिले ओली पार्टीका कुनै निर्णय मान्दिनँ, हिम्मत भए कारबाही गरेर देखाओ भनेर खुला चुनौती दिइरहेका छन् । उनी यसरी आफ्नो माउपार्टीलाई मात्रै नभएर सिंगो व्यवस्थालाई चुनौती दिइरहेका छन् ।

एउटा ओली सिंगो पार्टी बहुमतको लागि, राजनीतिक व्यवस्थाको लागि चुनौती बनिरहँदा त्यसका लागि आवश्यक उपचार पहिल्याउन नसक्ने, आवश्यक निर्णय लिन नसक्ने पार्टी बहुमत र त्यसका नेतालाई जनताले प्रश्न गरिरहेका छन् । पटक–पटक बैठक बस्छ, स्थगित हुन्छ । दुई अध्यक्षलाई छलफल गरेर निकास निकाल्ने जिम्मा दिइन्छ । तर, तीबीच कहिल्यै सहमति हुँदैन ।

किनकि एउटा अध्यक्ष जो प्रधानमन्त्री पनि छन्, एउटा माइण्डसेटमा कुनै हालतमा नछाड्ने आत्मघाती निर्णय गरेर बसेका छन् । खाइपाइ आएको कुनै पनि सुविधा नछोइकन सहमति गरौं भनी अर्को पक्षलाई निरीह बनाएर पठाइदिन्छन् । अर्कोपक्ष अँध्यारो मुख लगाएर बाहिरिन्छ । यो श्रृंखला निरन्तर लामो समयदेखि चलिरहेको जनआस्था साप्ताहिकले लेखेको छ ।

किन पुग्दैन बैठक निष्कर्षमा ?
सम्झौताअनुसार एकताका दुवै पक्ष इमान्दार भएर पार्टी र सरकार सञ्चालनमा अघि बढेको भए खासै समस्या थिएन । तर, शुरुमा माधव नेपाल र ओलीबीचको लडाइँले समस्या ल्यायो । यसले संघ र प्रदेश सरकार निर्माणदेखि प्रदेश र जिल्ला अध्यक्ष, इञ्चार्ज बनाउने कुरा प्रभावित भयो । अष्टलक्ष्मी शाक्यलाई प्रदेशमा चुनाव लड्न लगाइयो तर मुख्यमन्त्री दिइएन । उपाध्यक्ष भीम रावललाई सचिवालयमा लगिएन, एमाले उपमहासचिव विष्णु पौडेललाई नेकपाको महासचिव बनाइयो ।

सरकारले यति, गुठी, एमसिसी, सांसद अपहरण, गोकुल काण्ड, सभामुख काण्डलगायत धेरै गलत कदम उठायो । पार्टीले खबरदारी गर्‍यो । पूर्व माओवादीलाई सिध्याउने हो, पार्टी एकता होइन, विलय हो, तिमीहरू डेरावाल माग्ने हौ, हैसियत नभएका, जनयुद्ध होइन अपराध हो त्यसको स्वामित्व लिइन्न, जनयुद्ध लेख्न, भन्न पाइन्न, जनयुद्ध दिवस मनाउन र शहिदलाई माया गर्न पाइन्न, प्रचण्डलाई नेता मानिन्न, जबज मानेर प्रचण्ड एकतामा आएको जस्ता चिढ्याउने तरिकाले लेख्ने, बोल्ने गर्न थालियो ।

यसरी मैदानमा सिधा हेर्दा ओलीपक्ष र प्रचण्ड पक्षको घमासान युद्ध चलिरहेको छ । तल्लास्तरका कमिटीमा पूर्व एमालेका नेपाल पक्षसँग नजिक हुने माओवादीलाई ओली पक्षले खुइल्याउने, आइसोलेशनमा राख्ने काम अहिले पनि चलिरहेको छ । यसले भर्खरै एकीकृत हुँदै गरेको पार्टीको मनोविज्ञान बिगारेको छ ।

आफूलाई धेरै असहज बनाए पार्टी फुटाइदिन्छु भनेर धम्क्याउन ओलीले अध्यादेश ल्याए । वामदेवलाई आफ्नो पक्षमा पारेपछि त्यो अध्यादेशको औचित्य सकियो । त्यहीबेला भारतले नेपालको भूमि मिचेर सडक बनायो । अघिल्लो दिनसम्म यो चुच्चो परेको नेपालको नक्सा मैले कतै पढेको छैन भन्ने ओली तीन दिनपछि नेपालको नयाँ नक्सा जारी गर्न सहमत भए । अहिले त्यही नपढेको नेपालको चुच्चे नक्साको कारण ओलीलाई राष्ट्रवादको कछाड मिलेको छ ।

ओलीको अडान प्रचण्डलाई पासो
नेपाल र प्रचण्डहरू ओलीसँगको लडाइँमा निर्णायक आकारमा छन् । तर, वामदेवलाई अघि सारेर गतिविधि गर्दा ओलीको अगाडि सबै निरीह बनेका छन् । ओलीको राजीनामा नीति, विधि, कार्यदिशा र विचारका आधारमा मागेको भए उनी ढोडको लौरोझैं उहिल्यै ढलिसकेका हुने थिए ।

तर, ओलीविरुद्ध लाग्नेहरू स्वयं ढोडको लौरोमा उभिएर ओलीको राजीनामा माग्नाले आफैं अकर्मण्यतामा फसेका छन् । उनीहरू अहिले न ओलीलाई कारबाही गरेर निकाल्न सक्ने स्थितिमा छन्, न त ओलीको अडान र कार्यशैली स्विकारेर बस्न सक्ने अवस्थामा छन् । ओली उनीहरूका लागि भालुको कम्पट भएका छन् ।

जताबाट नापे पनि वर्तमान लडाइँ प्रचण्डको लागि घातक नै छ । ओली र नेपालमध्ये एउटाले यसको प्रत्यक्ष–अप्रत्यक्ष फाइदा लिइरहेका छन् । आफ्नो जयजयकार गर्नेहरूको कुरा सुनेर यस्तै गरिरहने हो भने प्रचण्डको भोलि अन्धकार छ, त्यससँगै पूर्वमाओवादी र परिवर्तनका पक्षधरको राजनीति पनि अन्धकारमय छ ।

आफूपछिको पुस्ताको राजनीति नबिगार्न पनि प्रचण्डले आफूलाई खुलेर आलोचना गर्ने र सल्लाह दिने पंक्तिलाई नजिक राखेर सल्लाह लिई काम गर्न आवश्यक छ । प्रचण्डले गल्ती गर्दा पनि त्यो सही हो भनेर धुप–दीप–नैवेद्य गर्ने भजनमण्डलीका कारण न हिजो पार्टी सुरक्षित रहन सकेको थियो न त अब रहन सक्छ ।