एक महिनाभित्र नयाँ प्रधानमन्त्री बनाउने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एक महिनाभित्र नयाँ प्रधानमन्त्री बनाउने तयारी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पहलमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भैरहेको खुलेको छ ।

सत्ता सम्हालेदेखि नै अनेक अनेक काण्डमा फस्दै बिबादित हुँदै गएपछि प्रधानमन्त्री ओली पार्टीमै एक्लिएका छन् । पार्टीको केन्द्रीय कमिटि, स्थायी कमिटि, सचिवालय सबैतिर एक्लिएपछि ओलीको प्रधानमन्त्री पद मात्र होइन पार्टीकै अध्यक्ष पद पनि सङ्कटमा देखिएको छ ।

पछिल्लो अध्यादेश काण्डले ल्याएको बाढीले बजेटअघि नै केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्ने पक्का देखिएको छ। प्रधानमन्त्री ओलीबाट अब पार्टी र सरकार चल्न नसक्ने निष्कर्ष निकाल्दै दुई तिहाई मत प्रधानमन्त्री परिवर्तन गर्ने तयारीमा लागेको बुझिएको छ ।

नेकपाकै नेता माधव नेपालले आइतबार कोटेश्वरस्थित निवासमा आइतबार आफूनिकट स्थायी समिति सदस्यहरुको भेला आयोजना गरेका थिए। सो भेलाले प्रधानमन्त्रीको विकल्प खोज्न अब ढिला गर्न नहुने निश्कर्ष निकालेको छ।

भेलामा युवराज ज्ञवाली, भीम रावल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, बेदुराम भुसाल, मुकुन्द न्यौपानेसहितका स्थायी समिति सदस्य सहभागी थिए। पर्यटन मन्त्रीसमेत रहेका भट्टराई भने भेलाको सुरुमै आफ्नो धारणा राखेर बाहिरिएका थिए।

भेला सकिएपछि एक नेताले बजेटअघि नै सरकार परिवर्तन हुने दाबी गरे । उनका अनुसार यसअघि भएको ओलीइतर पक्षको गठबन्धन तथा भेला पार्टीको निर्णय तथा निर्देशन अनुसार सरकार सञ्चालन होस् भन्ने विषयमा मात्र केन्द्रित थिए। तर, अध्यादेश प्रकरणपछि ओलीकै विकल्प खोज्ने निश्कर्षमा नेताहरु पुगेका हुन्।

ओलीको विकल्पको रुपमा पूर्व प्रधानमन्त्री नेपाललाई अघि सार्ने तयारी भएको स्रोतको दाबी छ । प्रचण्डले यो सबै चाँजोपाँजो मिलाएको र नेपाललाई प्रधानमन्त्री बन्नको लागि तयार हुन समेत आग्रह गरेको स्रोतले बतायो ।

सरकार परिवर्तनको गतिविधिको नेतृत्व बाहिर देखिने गरी नेता नेपालले गर्ने र त्यसमा पूर्वमाओवादी पक्षको समर्थन रहने बताइएको छ।

भेलामा सहभागी भएका सबै नेताले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी र सरकारको नेतृत्व गर्न सक्नु भएन भनेर धारणा राखेको बताइएको छ ।नेपाल निवासमा भएको भेलाले स्थायी समितिको बैठक पनि तत्काल राख्नुपर्नेमा जोड दिएको छ। लकडाउनको बहाना देखाएर स्थायी समितिको बैठक ढिला गर्न नहुने नेताहरुले बताएका थिए।

स्थायी समितिका २० जना सदस्यहरुले यससघी नै स्थायी समितिको बैठक बोलाउन माग गर्दै पार्टीमा निवेदन दिएका छन् । बैठक तत्काल बोलाए आफैले सामना गर्न नसक्ने प्रधानमन्त्री ओलीको ठहर छ । त्यसैले ओली हाल बैठक सकेसम्म टार्ने प्रपन्चमा लागेको आरोप समेत लागेको छ ।

गत सोमबार सरकारले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्ने प्रावधानसहितको राजनीतिक दल तथा संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएपछि त्यसको चौतर्फी आलोचना भएको थियो। नेकपाभित्र र बाहिर चर्को दबाब परेपछि प्रधानमन्त्री ओलीले शुक्रबार सो अध्यादेश फिर्ता लिएका थिए।

त्यसअघि नेकपाको सचिवालयका ९ मध्ये ६ सदस्यहरुले बिहीबार भैँसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतम निवासमा भेला भएर ओलीलाई २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए। अन्यथा स्थायी समिति बैठक बोलाउने चेतावनी भेलाले दिएको थियो।

त्यसपछि ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक राखेर दुवै अध्यादेश फिर्ता लिएका थिए।

नेकपामा एक तिहाइ सदस्यले लिखित रुपमा माग गरेपछि स्थायी समिति बैठक राख्नु पर्ने प्रावधान छ। पूर्व माओवादी र नेपाल पक्षमा २० सांसदले बैठक राख्न लिखित रुपमा माग गरिसकेका छन्।