दमक पुगेर ओलीले भने: मलाई चुनाव हराए फेरि पछुताउनु पर्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दमक पुगेर ओलीले भने: मलाई चुनाव हराए फेरि पछुताउनु पर्छ



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालमा आफूले हार्दा जनतालाई एक वर्षमै पछुतो भएको बताएका छन्। दमक नगरपालिकामा पार्टीकै नेता-कार्यकर्ताको अन्तर्घाततर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘त्यसबेला (२०६४) सालमा मलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो माने।’ यसपटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै अध्यक्षले अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए।

स्थानीय निर्वाचनमा अन्तर्घात भएको उनले बताए। ‘गल्ती कहिले–कहिले हुन्छ तर पटक–पटक दोहोरिनु हुँदैन। अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु, ’ उनले भने।

पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो? भनेर कार्यकर्तालाई प्रश्न गरेका छन्।

‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो,’ अध्यक्ष ओलीले भने, ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो।’ पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन्।

सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ। पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको बताउँदै उनले आगामी दिनमा गल्ती नदोहोर्‍याउन र पार्टीले जित्नेगरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।