एकाबिहानै ओलीको नयाँ अफर बोकेर प्रचण्डनिवास पुगे विष्णु पौडेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकाबिहानै ओलीको नयाँ अफर बोकेर प्रचण्डनिवास पुगे विष्णु पौडेल



काठमाडौँ – नेकपाको विवाद उग्र बन्दै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने विभिन्न नेताहरूलाई मिलाउने प्रयत्न जारी राखेका छन् । सोमबार विभिन्न नेताहरूलाई बालुवाटारमै बोलाएर छलफल गरेका ओलीले मंगलबार बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पार्टी सचिव विष्णु पौडेललाई पठाएका छन् ।

मन्त्रीमंडल ब्यापक पुनर्गठन गर्ने र पार्टीको कार्यकारी पदमा आफूले हस्तक्षेप नगर्ने अफर लिएर पौडेललाई खुमलटार पठाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आफूविरुद्ध प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गराउन विभिन्न पहल गरिरहँदा ओलीको उक्त सन्देश लिएर महासचिव पौडेलले खुमलटार पुगेका हुन् ।

प्रचण्डसँग भेट गरेर पौडेल बालुवाटार फर्किसकेका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइएको छ तर त्यसका लागि के संवाद भयो भन्ने खुलाएका छैनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अन्य नेताहरूलाई फकाउन नसकेपछि प्रचण्डसँग सहमति गर्न पहल गरिरहेको बताइएको छ ।

विवाद समाधानको प्रयास स्वरुप ओली दूत बनेर महासचिव पौडेल मंगलबार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्ड निवास गएका हुन् । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने अडान लिएको छ ।

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् ।

नेता नेपाल र गौतमले ओलीलाई आफ्नो कार्यशैली सच्याउन चुनौती पनि दिएका छन् । यस्तो बेला खुमलटार पुगेर ओली दूत पौडेलले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली केहि लचिलो हुन खोजेको प्रचण्ड-नेपालको बुझाई छ तर, निर्धारित बैठक भने नरोक्ने पक्षमा उनीहरू छन ।