जनताले सधै एमाले र कांग्रेसलाई साथ दिन सक्दैनन्: केपी ओली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनताले सधै एमाले र कांग्रेसलाई साथ दिन सक्दैनन्: केपी ओली



नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् । बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताएका हुन् ।

ओलीले नेपालमा मुख्य रुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने तर्क गरे । उनले राजनीति र राजनीतिक संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए । ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको जिकिरसमेत गरे ।

उनले भने, ‘यो गतिशील दुनियाँ हो । जो स्वतन्त्र रुपमा युवाहरू उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रुपमा लिनुपर्छ । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ । म यो पनि भन्दिन की, एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली कांग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन । अहिलेको यथार्थ के हो भने नेपालमा आधारभुत, मुख्य रुपमा दुईवटा पोल्टिकल पार्टी छन्, एमाले र कांग्रेस । यिनीहरूले ठिक काम गरेनन् भने, कोही पनि ठिक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढिरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निस्क्रिय भएपनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । समय गतिशील छ । राजनीति र राजनीति संगठनमा विचारको महत्व हुन्छ । गन्तव्य र उद्देश्यको महत्व हुन्छ । प्रजा परिषद् विचार, उद्देश्य गन्तव्यले सफल भएको हो । त्यसकारण विचार चाहिन्छ ।’

ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए । उनले युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरूले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए ।