ओलीले २० दिनअघि भनेका थिए - मसँग परम्परागत ज्ञान छ, कोरोना सर्दैन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ओलीले २० दिनअघि भनेका थिए – मसँग परम्परागत ज्ञान छ, कोरोना सर्दैन



कोरोनाबाट संक्रमित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुसको तेस्रो साता परम्परागत ज्ञान भएकै कारण आफूलाई कोरोना नलागेको जिकिर गरेका थिए । उनको यो जिकिर महिनादिनसम्म नपुग्दै खारेज भएको छ ।

उनले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएपनि आफूसँग परम्परागत ज्ञान भएको दाबी गरेका थिए ।

तर, यस्तो अवस्थामा पनि आफूलाई कोरोनाले समाउन नसकेको उनको भनाइ छ । संस्कृति बचाउ अभियानले पुस २१ गते भक्तपुरको बालकोटस्थित ओलीनिवास पुगेर उनीसँग भेट गरेको थियो ।

अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए ।

‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।