जिल्ला अधिवेशनपछि एमाले झन् कमजोर, ओलीमाथि आरोप लगाउँदै पार्टी छोड्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जिल्ला अधिवेशनपछि एमाले झन् कमजोर, ओलीमाथि आरोप लगाउँदै पार्टी छोड्दै



तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको थियो । त्यसयता चोइटिएको एमाले एकढिक्का रहला भन्ने धेरैको अनुमान विपरित पछिल्लो समयमा एमाले छाड्नेहरूको संख्या उल्लेख्य बढ्न थालेको छ ।

एमाले छाडेर एकीकृत समाजवादी जाने या स्वतन्त्र बस्नेहरूले अध्यक्ष ओलीको ‘उदण्ड स्वभाव’मा कुनै परिवर्तन नआएको आरोप लगाउन थालेका छन् ।

गत शुक्रवारबाट जारी जिल्ला अधिवेशनमा ओलीले आफूनिकट धेरैलाई जिल्लाको नेतृत्वमा पुर्याउने प्रयास गरेपछि असन्तुष्टहरू लाखापाखा लागेका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने केही ठाउँमा ओलीपक्षले पेलेरै आफ्ना मान्छेलाई अध्यक्ष बनाएको छ ।

निर्वाचनका क्रममा पनि ओलीनिकट केन्द्रीय नेताहरूले नै हस्तक्षेप गरेको कतिपय असन्तुष्टहरूले बताइरहेका छन् ।
दाङमा सहमतिका साथ भएको नेतृत्व चयन ठीक नभएको भन्दै निवर्तमान अध्यक्ष टिकाराम खड्काले एमाले छोड्ने घोषणा गरेका छन् । खड्का माधव नेपाल समूहमा थिए भने विभाजनपछि ओलीतिरै छोडिएका नेता हुन् ।

त्यस्तै अर्घाखाँचीका एमाले नेता खुबिराम आचार्यले जिल्ला अधिवेशनमा चलखेल भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । अर्घाखाँचीमा अध्यक्षसहित ९० जनाको कमिटी निर्विरोध चयन भएको थियो । उनले उक्त अवैधानिक कमिटी तत्काल खारेज गर्नुपर्ने अडान राखेका छन् ।

त्यस्तै पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगरले पनि पार्टी छोड्ने घोषणा गरे । अध्यक्षका प्रत्यासीसमेत रहेका मगरले नेतृत्वको छनोट राम्रो तरिकाले नभएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । उनी एकीकृत समाजवादीमा जाने तयारी गरिरहेका छन् ।

एमाले छोड्नेहरूको एउटै असन्तुष्टि छ, सबै तहका संगठनमा ओलीले कब्जा गर्न खोजेको आरोप ।
त्यस्तै केही दिन अगाडि नेकपा एमालेका नेता एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्दप्रसाद भुसालले पार्टी नेतृत्वमा चरम निरंकुशता देखिएको भन्दै पार्टीबाट राजीनामा दिएका थिए ।

पार्टीमा गुटबन्दी, व्यक्तिगत मनोमानी, नेतृत्वको निरंकुशता बढ्दै गएकाले आफूले पार्टी र युवा संघको सम्पुर्ण जिम्मेवारीबाट आज (आइतबार)देखि लागू हुने गरी राजीनामा दिएको उनले बताए छन् । एमाले अर्खाघाँचीका नेता भुसाल युवा संघका केन्द्रीय सचिवका साथै जिल्लाको इन्चार्ज थिए ।

केही दिनअघि नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले पार्टी छाडे । अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले ओलीलाई पार्टी विधि र पद्धतिविपरित चलाएको, मार्क्सवाद र लेनिनवादका आधारभूत मान्यता त्यागेको र पार्टीमा व्यक्तिवादी चिन्तन हाबी गराएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

पार्टी विभाजनपछि कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा नेकपा एमालेबाट विद्रोह गर्दै एमाले कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।

नेकपा एमालेका कार्यकर्ता विद्रोह गरी नेकपा एसमा समाहित भएसँगै साविकको एमालेको कोसी गाउँपालिका–४ वडा कमिटी नेकपा एसको वडा कमिटीमा रूपान्तरित भएको थियो ।

यी केही उदाहरणहरू मात्र हुन् । देशै भरि एमाले छोड्नेको लहर बढिरहेको नेकपा एसका प्रवक्ता घनश्याम खतिवडा बताउँछन् ।

खतिवडाले एमाले छोडेर आफ्नो पार्टीमा आउनेको संख्या हजारौं नभई लाखौँमा रहेको दाबीसमेत गरे । उनका अनुसार केही साताअघि एमालेबाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौला र पाल्पाका पूर्वसांसद तथा पूर्वकेन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीसहित सयौँ नेता नेकपा एसमा प्रवेश गरेका थिए ।

त्यस्तै उनले सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गरेको खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टी प्रवेश गर्दै कमरेड निरौलाले महाधिवेशनमा पार्टीका गलत कामकारबाहीमाथि छलफल नभएको र पार्टी सच्चिएर सही मार्गदर्शनका साथ अघि बढ्ने विश्वाससमेत समाप्त भएकाले एमाले परित्याग गरी नेकपा एसमा समाहित भएको बताएका थिए ।

यस्तै, पूर्वसांसद रायमाझीसहित पाल्पाका जिल्ला र गाउँ कमिटीसहित विभिन्न तहका ६७ जना नेताले शनिबार पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरी नेकपा एसमा आवद्ध भएको घोषणा गरेका छन् । कमरेड रायमाझीले नवौँ अधिबेशनबाट पारित नीति, सिद्धान्त विपरित पार्टीलाई दक्षिणपन्थी अवसरवादको भासमा केपी शर्मा ओलीले डुबाउदै लगेको, माक्र्सवाद र लेनिनवादका मुलभूत सिद्धान्त परित्याग गरेको र पार्टी व्यक्तिवादी चिन्तनले ग्रसित अवस्था सिर्जना भएकाले एमाले परित्याग गरेको बताएका छन् ।

केहीदिनअघि नेकपा (जनवादी) पार्टीका महासचिव देवसिंह महता नेतृत्वमा सिंगो पार्टी र त्यसका सवै ४५ जिल्ला कमिटी र सोही संख्यामा जनसंगठनका ११ हजारभन्दा बढी नेता तथा कर्यकर्ता र राष्ट्रिय जागरण परिषद, नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीको नेतृत्वमा अभियानका सबै सदस्य नेकपा एसमा समाहित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

धमाधम असन्तुष्टिहरू बढ्दै गएपछि आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमालेलाई थप अप्ठेरो पर्ने निश्चित छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ वटै सीटमा सत्ता गठबन्धनले बाजी मार्ने देखिएको छ । अध्यक्ष ओलीले राष्ट्रिय सभामा गुमाउने सीट एमालेले गुमाउनुपर्ने अन्तिम किस्ता भएको दाबी गरेका छन् । पार्टीका प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरूले धमाधम एमाले छोड्दै गएपछि राष्ट्रिय सभामा गुमाउने सीट नै अन्तिम नहुने देखिन्छ ।

एमाले छोडेर नेकपा एसमा प्रवेश गरेका एक जिल्ला नेताले हिमालपोस्टसँग भने, ‘ओलीमा पहिल्यैदेखि उदण्ड स्वभाव थियो । जे पनि बोलिदिने, जसो पनि गरिदिने । पार्टी विभाजन भएपछि कमसेकम त्यस्तो स्वभाव छोड्छन् कि भन्ने आशा थियो, तर छोडेनन् । जताततै मनपरी र एकलौटी गर्न थाले । त्यसैले हामी एमाले छोड्न बाध्य भएका हौँ ।’