ओलीको प्रश्न: एमालेले हार्दा त २०६ सिट ल्यायो, जित्यो भने के होला ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको प्रश्न: एमालेले हार्दा त २०६ सिट ल्यायो, जित्यो भने के होला ?



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको बताएका छन्।

बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तिको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन। १०–१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा। अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्‍यौँ भन्दै उफ्रेका छन्। न आफ्नो विरुवा छ न त केही छ।’

निर्वाचनमा आफ्नै कन्तविजोक भएकाहरुले एमाले हारेको भन्दै प्रचार गरिरहेको आरोप लगाए। हारेको भनेको एमाले पनि दोस्रो पार्टीका रुपमा स्थापित भएको ओलीले बताए। उनले भने, ‘एमालेले हार्‍योभन्दा पनि २०६ सीट एक्लै जितेर दोस्रो पार्टी भएको हो।

अरु सप्पै झुण्डिएर कसैले हात समातेको छ, कसैले पिडौंला अँठ्याएको छ, कोही तिघ्रासम्म उफ्रीउफ्री झम्टिएको छ। र पनि सबैभन्दा ठूलो पार्टी कांग्रेसभन्दा १ लाख बढी भोट त एमालेले ल्याएको हो नि! अहिले अ‍ैंचोपैंचो, सरसापटी सबै गरेर ३ प्रतिशत पुर्‍याउनेले ३४ प्रतिशत मत ल्याएको एमालेलाई हार्‍यो अरे। यो हल्लाका पछि लाग्नुपर्दैन।’ पार्टीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न नसकेकाले आफूहरुको सिट कम आएको ओलीले बताए ।