ओलीलाई अध्यक्षबाट हटाउने तयारी गर्दै माधव नेपाल समूह - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीलाई अध्यक्षबाट हटाउने तयारी गर्दै माधव नेपाल समूह



काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहको बैठकमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने आवाज चर्किएको छ । काठमाडौंमा मंगलबार बसेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरूको बैठकमा यस्तो आवाज उठेको हो।

बैठकमा सहभागी अधिकांश नेताहरूले ओली विनाको एमाले बनाउनुपर्ने भन्दै त्यसमा सबै सदस्यहरूले प्रयास गर्ने बताएका थिए । सदस्यहरूले यस्तो धारणा राखेपछि बैठकको माहोल नै बदलिएको थियो ।

बैठकबारे जानकारी दिंदै केन्द्रीय सदस्य मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओली पार्टीमा रहेसम्म एमालेलाई सग्लो राख्न सकिंदैन भन्ने सुझाव आएको बताए। निवर्तमान प्रधानमन्त्री ओली बाहेकको एमाले बनाउनुपर्छ भन्ने धेरैको धारणा रहेको उनको भनाइ छ।

‘केन्द्रीय सदस्य र सांसदहरूको मनोविज्ञान बुझ्दा १५–२० दिनभित्र केन्द्रीय कमिटीमा हाम्रो बहुमत पुग्छ र त्यसो हुँदा ओलीलाई अध्यक्षबाट हटाउन सक्ने देखिन्छ,” चौधरीले भने, “संसदीय दलमा पनि सजिलै बहुमत पुग्ने हुनाले दलको नेताबाट पनि हटाउन सकिने सल्लाह–सुझाव आएको छ।”

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ मध्येका एक सांसद चौधरीले कानूनले दिएसम्म आफूहरू सरकारमा सहभागी हुने बताए। “मन्त्री बन्दा सांसद पद गुम्दैन भने हामी सरकारमा जान्छौं, यो विषयमा पनि कानूनी परामर्शमा छौं,” उनले भने।

ओलीलाई एमालेबाट हटाउन नसके नयाँ पार्टी बनाउने विषयमा पनि छलफल भएको चौधरीले बताए। एमालेका अर्का नेता विरोध खतिवडाले ओली पक्षका थप ६–७ जना सांसदहरू आफूहरूको समूहमा आउन लागेको जानकारी दिए। यसअघि प्रेम आले सहित ओली पक्षका ८ सांसदले देउवालाई भोट दिएका थिए।

देउवालाई भोट दिएका सांसदहरूलाई एमाले केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। तर, आफूहरूलाई त्यसबारे औपचारिक जानकारी नआएको नेत्री रामकुमारी झाँक्रीले बताइन्।