पाईंन खबर « Himal Post | Online News Revolution
Logo

पाईंन खबर



म, एक आम नेपाली दर्शक,श्रोता र पाठक । मेरो नियति चर्चित लोक गायिका हरिदेवी कोईरलाको स्वरमा रहेको कुनै समयको चर्चित गीत ‘पाईंन खबर ‘ को भन्दा फरक छैन । हरीदेवीको आवाज़मा टाढा भएको आफ्नो मान्छेको ख़बर नपाएको पिरलो छ भने मेरो पिरलो मेरै वरिपरि नजिकमै रहेक़ा वास्तविक ख़बर नपाएर हावा र अर्थहिन ख़बर पाएकोमा हो। नेताका कुरा,राजनीतिका मात्र कुरा,नकारात्मक कुरा मात्र ख़बर बनेको पिरलो हो मेरो। यो पिरलो शान्त पार्न म निस्किएँ -मनोलोकमा एउटा खबर ख़ोज़्ने मान्छे खोज्दै ।

घुम्ने मेच माथि बसेर कम्प्युटरमा आँखा दौडाउँदै गरेको मानिस सँग मैले प्रश्न सोध्ने अनुमति लिएँ । अनि सुरुवातमै गुनासो राखें,’सर, मैले ख़बर पाइन’ । ऊ मुसक्क मुस्कुरायो । मैले प्रश्नहरू होलसेलमै राख्न चाहें । अनगिन्ती प्रश्नको फ़ेहरिस्त सुनिसके पछि ऊ बोल्न सुरु गर्‍यो ।

“…… हेर्नुस यो ईमान्दारी भन्ने चीज़ मान्छेको लेभल अनुसार बदलिदै जाँदो रहेछ । म हिंजो पनि ईमान्दार थिएँ,आज पनि छु । फरक के हो भने हिंजो डराई डराई काँपी काँपी बोल्थें, आज नडराइ बोल्छु । म पत्रकारिताको रेड,ब्ल्याक र ब्लू गरी तीन लेवल पार गरेर यहाँ सम्म आएको हुँ । यी तीन रङ्गका लेवलको लत लागेको मान्छे कसै सँग डराउँदैन,अझ भनूँ भने डराउनै पर्दैन । तर आज ईमान्दारी पूर्वक भन्दै छु ।”
उसका रंगिन लेवलका हुंकारले केही विचलित भएँ म । पत्रकार इमानदार हुनुपर्छ,यो मैले बुझेको सत्य हो तर ऊ इमान्दारी शब्दलाई जोड दिई दिई बोलिरहेको थियो,खै किन ! पत्रकारलाई प्रश्न सोध्न गएको म डराई डराई सुन्न थालेँ । ऊ चाहिँ बिना कुनै डर र संकोच बोल्दै गयो ।

“…तपाईँले जस्तै मैले ख़बर पाइन । त्यसैले जे पाएँ,त्यहि लेखेर चर्चा बटुल्दै छु । मलाई याद छन् ती दिन, जति बेला म पत्रकारिताको आधारभूत तालीम लिन हलमा छिरेको थिएँ । प्रशिक्षक ज्यू ले पत्रकारिताका चुनौतीका डरलाग्दा पाटा बताइरहदा म भित्र भित्रै थूरथूर काँपेको थिएँ । तर अठोट गरेँ, पत्रकार भएरै छोड़छु । मलाई प्रयोगात्मक पत्रकारिताको लागि फ़ील्डमा पठाइयो । फ़ाईभ डब्ल्यू र वन एच समेटेर मैले थुप्रै ख़बर बनाएँ । कतिमा गाली खाएँ त कतिमा वाहवाहि पनि पाएँ । सुरुका दिनमा धेरै सङ्घर्ष गरियो नि हेर्नुस । त्यति बेला ख़बर खोजिन्थ्यो,कति पाइन्थ्यो पाइन्थ्यो ख़बर । अचेल खोजिन्न,त्यसैले पाइन्न खबर । हामी ले त पाऊँदैनौ भने तपाईँहरूलाई कहाँ बाट दिने ख़बर ?

भनीहालें नि आज म ईमान्दारी पूर्वक मैले ख़बर नपाएको कथा तपाईँ सामु राख्दै छु । मैले ख़बर नपाकै हो हेर्नुस । किनकि म ख़बर खोज्न जान नसक्ने भएको छु । अशक्त भएर होइन, झन् सशक्त भएर । सशक्त कसरी भन्नुहोला । धेरै कारणले सशक्त भएको छु म । जुन तालीम दिने प्रशिक्षकको कुरा माथि गरेँ नि, ती आजकल पत्रकारबाट ठुला नेता भएका छन् । मैले सुरुवातमै अलि बठयाईं गरेँ । त्यति बेला ती सर नेता बन्ने बाटोमा छन् भन्ने अलिअलि सुइंको पाएको थिएँ मैले । अनि बुद्धि पूर्याएर तीनको पाउ बड़ो कोमलता पूर्वक मोल्न थालेँ । मलाई अरू केटाहरुलाई भन्दा फ़ील्डमा पनि कम पठाउन थालियो अनि मैले झ्याप्प लाएर उनकै कार्यालयमा उनकै छेउको मेच पाएँ । उनको दलको सदस्यता पाएँ । कम्प्युटर पाएँ । उनीसँग बसेर रेडलेवल ठोक्काउन पाएँ। म सँगै तालीम लेका केटाहरू कोही ख़बर खोज्दै बगर चहार्दै थिए त कोही अरब पुगिसकेका थिए । म चाहिँ कुर्सीमा घूमिघूमी दुनियाँलाई घुमाई घुमाई ख़बर लेखिरहें । ती सरले फोकटमा डराउन देका रैछन पत्रकारिता चुनौतीपूर्ण पेसा हो भनेर । बुढा बाठा हुन,अलि क्रान्तिकारी स्वभावका केटाहरू पत्रकारितामा घुस्छ्न कि, केही फरक कुरा गर्छन् कि भनेर दिमाग़ लगाका ! कायरहरु बटुलेर बुढाले सदस्यता भटाभट बाँडे ,दलको छाता सङ्गठनको सदस्य नभए पत्रकारितामा टिक़्न सकिन्न भनेर कम्ता डर देखाए बुढाले केटाहरूलाई ! हो त रहेछ नि ! आफू इ यसरी टिकियो दल हुँदै महासङ्घको सदस्य बनेर । बुढाका कुरा नपत्याउने पातहरू भाँडा र भेंडामा रमाईरहेक़ा छन् बिचरा !! यसरी मेरो रेड लेवल पत्रकारिता मज्जाले सुरु भयो हेर्नुस है !

अँ, मेरो सशक्तिको पाटो बताउँदई थिएँ नि ! पहिलो त म महासङ्घ र पार्टीको भातृसङ्गठन दुवैमा छु,त्यो भन्दा ठुलो शक्ति नै के भो र । दोस्रो, चिनजान सबै सँग छ । एउटा ख़बर लेख्ने पत्रकारको आफ़्नो आइडेंटीटी कार्ड नै परिचय हो वा पर्सनल चिनजान महत्त्वपूर्ण हो थाहा भएन,तर मलाई नचिन्ने सायदै कोही होलान् । म चिनिने हथकण्डाहरू गरिरहन्छु । यो कला पनि मैले बुढा बाटै सिकेको । यहाँ सम्म मेरो पत्रकारिता ब्ल्याक लेवलको भैसकेको छ,बुझ्नुस है ! मेरो अर्को सशक्तिको पाटो भनेको मेरो आर्थिक उपार्जन हो । पत्रकारिता सुरु गर्दा फ़ील्ड डुलेको आजकल ख़ूब काम लागेको छ बुझ्नु भो ? प्लट्टिंगमा सघाइराछ त्यो अनुभवले । पत्रकारले लेखेको जे पनि पत्याउने भएर होला,बोलेको पनि पत्याउँछन ज़मीन ख़ोज़्नेहरूले । व्यवसाय राम्रो छ । अनि अर्को पाटो चाहिँ मेरो आतिथ्यको हो । कार्यक्रम पर्न नै हुन्न केही, बोलाईहाल्छन । पहिले ख़बर सङ्कलन गर्न आइदिनोस भन्थे,ख़ूब खुसी भएर गइन्थ्यो । पछि पछि पेट र पदको आकार बढ्दै गयो अनि ‘भात र भत्ता छ कि नाई’ भनेर सोध्न थालियो । अचेल त सोध्नै पर्दैन । मासु सँग भात ख़ूब मिठो लागथ्यो ऊ बेला, अचेल मासु सँग लेवल हरू मात्र मिठा लाग्छन,भातमा खासै इंट्रेस्ट छैन । गयो गजधूम्म कुर्सीमा बस्यो, ब्याज लगायो भाषण ठोक्यो अनि राती उही त हो नि ! बुझ्नु भो नि मेरो पत्रकारिता ब्लू लेवलमा पुग्यो भनेर । ख़बर केटाहरुले लेख्छन ।

म सँग मान्छेहरु किन डराउंछन म बुझ्दिन । मेरो गर्जो टारिदिए त म उनीहरूको ख़बर लेख्दीन नि यार । बुद्धि पूर्याए त डराउनै पर्दैन नि । म के ठुलो कुरा माग्छु र उनीहरू सँग ? गाड़ी आफ़नै छ, तेल त हो नि गाड़ीलाई चाहिने । तेत्ति पनि ? सबै पिताम्बर जी जस्ता नहुने के ! तीजमा श्रीमतीले कम्ता तारीफ़ गरिन पिताम्बर जी को ? पेसा गरे पछि खान पुग्नु पर्छ के हेर्नुस । ऊ बेला भोक सानो थियो, पेट बढ़े पछि भोंक पनि त बढ़छ नि । ठुला पेट भाका पिताम्बर जीले बुझेको यो क़ुरो अरूले पनि बुझे किन डराउन पर्छ र म जस्तो नाथे पत्रकार सँग ?

अब चाहिँ म तपाईँले लगाएको आरोप तिर आउँछु । ‘भाइरल खोलो किन बगाइस’ ,’खोजपूर्ण ख़बर किन लेखिनस,सामाजिक सन्देशको पाटोमा किन चुकिस’ भन्ने होइन त तपाईँको आरोप ? सबभन्दा पहिला त तपाईँ यो कुरा बुझ्नूस कि प्रश्न सोध्ने काम हामी पत्रकारको हो कि तपाईँको ? ल ठिक छ सोधी हाल्नु भो,सुन्नुस । भाइरल खोलो मैले बगाको हो ? भाइरल भन्ने शब्द भाइरस बाट आएको होइन ? तपाईँ भाइरसलाई रोक्न छेक्न सकनु हुन्छ? सक्नुहुन्न नि ! अनि किन टाउको दुखाउनु हुन्छ ? जे भई राछ राम्रै त भैराछ नि । बिज़नेस भैराछ हाम्रो । तपाईँ लाई चाहिँ हरेक कुरामा सामाजिक सन्देश नै किन खोज्नु पर्ने नि ?सामाजिक सन्देशको ठेक्का पत्रकारको मात्रै हो ? अनि हाम्लाई जे प्रश्न सोध्न मन लाग्छ त्यही सोध्छम ,हाम्ले सोध्या प्रश्नमा तपाईँले किन प्रश्न गर्ने ? सामाजिक सन्देश ठुलो कि पपुलारिटी ठुलो ? हामी रातारात राजालाई रैती र रैतीलाई राजा बनाउने हैसियत राख्छम,सेतोलाई कालो र कालोलाई सेतो प्रमाणित गर्ने हैसियत राख्छम । तपाईँ सधैँ चौंथो अङ्ग चौंथो अङ्ग भन्दै चिढ्याइरहनु हुन्छ यार ? अनि तपाईँले के भनेक त्यो ‘केही ख़बर पाइनस’ भनेर ? ल पाइन ख़बर के गर्नु हुन्छ ? हाम्रा ख़बर नपढ्ने,बहिष्कार गर्ने पावर छ तपाईँमा ?

मेरो अगाड़ी यो कम्प्युटर देख्नुभाछ ? अनि यसमा इंटरनेट हुन्छ भन्ने थाहा छ ? अनि त्याहाँ भित्र कति ख़बर हुन्छ थाहा छ ? ख़बरको भंडार यहाँ हुँदा हुँदै किन घाम पानी पोल्यूसनमा जाने म ? जति गर्ने दुःख गरियो हेर्नुस,अब सकिन्न । कति दुःख बेसाइ रहनु के ? तपाईँलाई हामी प्रति दया लाग्दैन र गुरु ? फ़ोटो खिचिदिने अर्को छ,पोस्ट गरिदिने कोही छ,पत्याइदिने तपाईँहरू हुनुहुन्छ । न कुनै ख़बरको कपि राइट छ,न कुनै तस्बिर र दृश्यको कपि राइट छ,यति मिठो छुट भाक़ो बेलामा,यति सजिलै झूठ बिक्ने बेलामा तपाईँ दुःख बेसाउने कुरा गर्नु हुन्छ यार । तपाईँलाई के थाहा छ भाइरल बिज़नेसको बारेमा ?

अँ,तपाईँ समाजका वास्तविक ‘वाली र वाला’ पनि खोजनूस, खबर बनाउनुस भन्नु हुन्छ नि ! के भनेको हो त्यो अलिकति पनि थाहा छ ? त्यस्तो खबर बिक्छ काहिं ? फ़िलिम बनाउनी बिकाउन हो नि,हो त्यस्तै खबर  लेख्नी पनि बिकाउन हो,बुझाउन हैन बुझ्नु भो ? बरु तपाईँ नि एउटा काम गर्नुस न । सामाजिक सञ्जाल पक्कै चलाउनु हुन्छ होला,मोबाइल क्यामेरा पक्कै छ होला । बुझ्नु भो नि मैले के भन्न खोजदै छु । श्रोत विश्वसनीयता केही चहिन्न के । के टेन्सन गर्नुहुन्छ ? जसले जे पोस्ट गरे पनि पत्याउने जमात कति बालियो छ बजारमा हेर्नुस त । यो ज़मानामा तपाईँ आफ़ै पनि पत्रकार हो नि मोबाइल भए पछि त । कुरा बुझनुस न । बरु तपाईँका मनोगत प्रस्तुतिलाई संस्थागत बनाएर भाइरल खोलो बगाउन मन छ भने भन्नुहोला । म साथ दिनछु । लेनदेन आपसी समझदारीमा गरौंला । सबै पत्रकार म जस्ता हुन्नन के साथी ! दुःख गर्ने ती मूर्ख पत्रकारहरुक़ो ज़माना छैन क्या ! तपाईँलाई नि फ़ाईदा मलाई नि फ़ाईदा अनि भाइरल जगतलाई त फाइदै फ़ाईदा !! भएन त काईदा ??”

…ऊ अझै बोल्थ्यो होला म प्रतिक्रिया नजनाई मौन फर्किएँ । सायद मैले खोजेको खबर कैलै पाउँदिन होला ।