उत्तरी पाल्पाको दर्पुकमा पुग्यो पहिलो पटक बस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उत्तरी पाल्पाको दर्पुकमा पुग्यो पहिलो पटक बस



रामचन्द्र रायमाझी/ पाल्पा । उत्तरी पाल्पाको बगनासकाली–६ यम्घा दर्पुकमा पहिलो पल्ट बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि  बुधबार पहिलो पल्ट बस पुगेको हो ।  बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारको लागि परेको ४० लाख बजेटमा बाटो चौडा पारिएको छ ।

सुधारिएको सडकबाट गाउँमा गाडि पुगेको बगनासकाली गाउँपालिका प्रवक्ता एवं वडा ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए ।‘गत आ.व.को गाउँपालिकाको सबैभन्दा बढी रकमको बजेट यसै क्षेत्रमा राखिएको थियो ।’ उनले भने – ‘आगामी वर्ष यसको स्तरोन्नती गरी नियमित बस जाने बनाउन पहल गरिनेछ ।’

नियमित बस आए पछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताए । गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपते लगायतका स्थानीयले लाभ लिन सक्नेछन् । बुधबार  गाउँमा लु.१ ख ७७७६ नं.को बस पुगेको पछि स्थानीयमा खुशी छाएको थियो । ‘बाटो सजिलो रहेछ ।’ चालक कुलबहादुर गाहाले भने– ‘सधैं चलाउने बाटोमा जस्तै सजिलो गरी बस गाउँमा पुर्‍याएँ ।’

गाउँमा बस पुग्नासाथ गाउँलेहरूले चालकलाई फूलमालाले स्वागत गरेका थिए । बगनासकाली गाउँपालिकाको  मौलेभज्याङ्मा आठ वर्ष अगाडिदेखि  साँघुरो सडक र अफ्ठेरो घुम्ति छिचोल्दै दैनिक जसो तानसेन सम्मको लागि जीप सञ्चालन हुँदै आए पनि सडक चौडा नपारिदाँ यात्रुले समस्या भोग्दै आएका छन् । सडक चौडा भएसँगै गाउँमा बस पुगेपछि गाउँलेहरूले खुशीयालीमा एक अर्कोमा  अविरजात्रा गरेका थिए । दर्पुक गाउँमा सिमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ ।