गफ धेरै: ७० दिनमा जम्मा १२ सय ७७ को कोरोना परीक्षण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गफ धेरै: ७० दिनमा जम्मा १२ सय ७७ को कोरोना परीक्षण



काठमाडौं- नेपालमा कोरोना परीक्षण सुरु भएको ७० दिन भएको छ । तर, शुक्रबारसम्म जम्मा १२ सय ७७ जनामा मात्रै परीक्षण गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न बढीभन्दा बढी नमुना परीक्षण गर्नुपर्नेमा यो निकै कम भएको भन्दै विज्ञहरूले चिन्ता जनाएका छन् ।

चीनबाट आएका पहिलो संक्रमितको नमुना परीक्षण हङकङमा गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको जानकारी सरकारले १० माघमा दिएको थियो । त्यसको दुई दिनपछि अर्थात् १२ माघदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै परीक्षण सुरु गरिएको थियो ।

हाल केन्द्रसहित देशका सात ठाउँमा कोरोना परीक्षण सुरु भएको छ । तर, दिनमा सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म धरानमा ३९, हेटौँडामा पाँच, पोखरामा १९, जनकपुरमा पाँच, सुर्खेतमा सात र धनगढीमा पाँच जनामा कोरोना परीक्षण भएको छ । बुटवलमा भने ल्याब सञ्चालनको तयारी भइरहेको छ ।

‘कोरोना परीक्षणको निदान र उपचार भनेकै संक्रमितको द्रुत खोजी हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘काठमाडौंसहित देशका सात ठाउँबाट परीक्षण भइरहेको छ । जतिसक्दो धेरै परीक्षण गरेर संक्रमित पत्ता लगाउने विश्वव्यापी मान्यताअनुसार दायरा बढाइएको छ ।’

हङकङमा परीक्षण गरिएकासहित हालसम्म नेपालमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पहिलो संक्रमित पूर्ण रूपमा निको भएर घर गइसकेका छन् । पाँच जना उपचाररत छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दुई, धौलागिरि अस्पताल बाग्लुङमा दुई र सेती प्रादेशिक अस्पताल धनगढीमा एक संक्रमितको उपचार भइरहेको छ । तर, सबैको स्वास्थ्य सामान्य रहेको पनि उनले बताए ।

त्यस्तै, उपत्यकामा १५ र बाहिर एक सय पाँच गरी देशभर एक सय २० जना आइसोलेसनमा छन् । तीमध्ये एक सय सात जना कोरोनाको रेडजोनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरू सबैले कोरोनासम्बन्धी निःशुल्क कल सेन्टरमा फोन गरेर आइसोलेसनमा बसेका हुन् । उनीहरूलाई मन्त्रालयले सुरक्षित रूपमा बस्न र भेटघाट नगर्न भनेको छ । रेडजोनमा रहेकाहरूलाई कुनै समस्या देखिए तत्काल अस्पताल आउन मन्त्रालयले भनेको छ ।

सम्पर्कमा नआएका अन्य धेरै शंकास्पद छन् । विदेशबाट आउँदा विमानस्थलमा गलत विवरण भरेका कारण सम्पर्कमा ल्याउन नसकिएको मन्त्रालयले जनाएको छ । यस्तो जटिल परिस्थितिमा स्पष्ट विवरणहरू राख्न र भन्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ । कोरोना आशंका गरिएका कतिपय व्यक्ति खोज्न जाँदा विवरणअनुसार फेला नपरेको जनाएको छ ।

त्यस्तै, हवाई यात्रा प्रतिबन्ध गरिसकेपछि सिल्क एयर तथा थाईबाट काठमाडौं आएका ९६ जनाको नमुना संकलन गरिएको छ । उनीहरूलाई सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि थ्रोट स्वाबको नमुना संकलन गरिएको हो । कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका ९२ जनाको पनि नमुना संकलन गरी परीक्षणको प्रक्रियामा राखिएको छ ।

चीनबाट ल्याइएको र्‍यापिड टेस्ट किटको ट्रायल गर्न मानेन जनस्वास्थ्य प्रयोगशालाले, स्वास्थ्य अनुसन्धान परिषद्ले अन्य कम्पनीको पनि माग्यो

सरकारले आइतबार चीनबाट ल्याएको कोरोना परीक्षण गर्ने र्‍यापिड टेस्ट किट प्रयोगविहीन बनेका छन् । स्वास्थ्य मन्त्रालयले सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई किट ट्रायल गर्न भनेको थियो । तर, विश्व स्वास्थ्य संगठनले अनुमति नदिएको भन्दै प्रयोगशालाले अस्वीकार गरेको थियो ।

त्यसपछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई ट्रायल गर्न भनेको छ । तर, परिषद्ले पनि एक कम्पनीको मात्रै किट ट्रायल गरेर प्रभावकारिता जाँच्न नसकिने भन्दै अस्वीकार गरेको छ ।

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले अन्य केही कम्पनीले उत्पादन गरेर्का यापिड किट पनि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरेको बताए । मन्त्रालयले थप कम्पनीका किट उपलब्ध गराएपछि उनीहरूका दाबीअनुसार बढी प्रभावकारी भएका तीन कम्पनीका किट परीक्षण गरिने धिमालले बताए । तीमध्ये बढी प्रभावकारी देखिनेलाई प्रयोग गर्न सिफारिस गर्ने उनको भनाइ छ ।

तर, परिषद्को मागअनुसार थप कम्पनीका किट मन्त्रालयले शुक्रबारसम्म उपलब्ध गराएको छैन । त्यसकारण आइतबार ल्याएको किटको अहिलेसम्म मास परीक्षण हुन सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले सरकारले ल्याएको र्‍यापिड टेस्ट किट परीक्षणपछि प्रयोगमा ल्याउने बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ