पार्किन्संसका लक्षण « Himal Post | Online News Revolution
Logo

पार्किन्संसका लक्षण



-बनिता खनाल 

१९ वर्षको हुँदा देखी नेपालका धेरै डाक्टर, माता,भन्नीकोमा धाएर केही पत्ता नलागेपछी, २६ वर्षको उमेरमा, दिल्लीको एम्स हस्पिटलमा मलाई पार्किन्सन्स् भएको पत्ता लागेको हो । मलाई भइरहेको समस्याहरुको आधारमा, डाक्टर माधुरी बिहारिले, बिना कुनै रिपोर्ट, मलाई पार्किन्सन्स् भएको ठोकुवा गरिन। संसारभरि नै यसरी नै पार्किन्सन्स् रोग पत्ता लगाउने रहेछन्। जब अरू रोग नभएको रिपोर्टले बताउछ, त्यसपछी, लक्षणहरुका आधारमा पार्किन्सन्स् हो भन्ने रहेछन्।

त्यति बेला मलाई के के हुन्थ्यो त? कस्ता कस्ता लक्षण थिए ?

सधैँ कामेको जस्तो महसुस हुन्थियो। उभिएर पाइन्ट लगाउन नसक्ने भएको थिए । बसेर लगाउथे । प्यान वाला ट्वाइलेट्मा बस्दा धारा समातेर बस्थे नत्र पल्टिन्छु जस्तो हुन्थ्यो। जुत्ता लगाउन निकै समय लाग्थ्यो, जुत्ता किन्न जानै डर लाग्थ्यो, ट्राइल गर्दा स्लो हुन्छु अनि हात खुट्टा काम्छ भनेर । बसेको ठाउबाट उठ्न निकै गाह्रो हुन्थियो। खुट्टा कम्जोर भये जस्तो लाग्थ्यो। उभिदा पछाडि सरेर लडुला जस्तो हुन्थ्यो। कति पटक त लडिसकेको थिए। लेख्न लाग्द कलम समात्न गाह्रो हुन्थियो। समातिहाले पनि चिप्लिन्थो। कलम समातेर सरर लेख्न सक्दिन थिए । हात अड्किन्थ्यो । अक्षर बन्दैनथियो ।

हिँड्न निकै गाह्रो हुन्थ्यो। खुल्ला चप्पल लगायो भने फुस्किएको फुस्किएकै हुन्थ्यो। दात माज्दा टाउको चलाउने कि हात ले समातेको ब्रस चलाउने जस्तो हुन्थ्यो। बाथरुम मा कति चोटि लडुला लडुला जस्तो हुन्थियो नुहाउने बेला। महिनाबारी हुँदा प्याड फेर्नलाई उभिदा भित्तामा आडेस नलगाइ सक्दिन थिए।

म बच्चै देखी एक्दिन सगरमाथा चढ्छु भन्नि मान्छे, आज एक पाइला हिँड्न गाह्रो हुन्छ । अहिले म दिन मा ३ वटा औसदी ३ चोटि खान्छु, त्यै पनि कहिले काही लक्षण देखिन्छन। ब्यागको चेन लगाउदा जुग लाग्ला जस्तो हुन्छ । जुत्ता लगाउदा त्यस्तै हुन्छ र यस्ता लक्षण हरुले मलाई सधैँ आफूलाई कहिल्यै सन्चो नहुने बढ्दै जाने रोग छ भन्ने कुरा सम्झाइरहन्छन ।

जुन कुरा मैले जन्मिएदेखी नै सिकेको जस्तो लाग्थ्यो, अचेल फेरी आफ्नै तरिका ले सिक्दैछु । कसो गरी कलम समाते लेख्न अलि सजिलो होला ? कसरी जुत्ता लगाये हिड्न सजिलो होला ? हिड्दा कति बेला खुट्टा चाले सजिलो होला ? ब्रुस कसरी समाते, दात माझ्न सजिलो होला ? यस्तै यस्तै सुन्दा सामान्य लाग्ने काम गर्न मलाई भने कष्ठ गर्नुपर्छ । मान्छेहरू भन्छन्, तिमलाई हेर्दा त ठिकै देखिन्छ। अरूले खासै याद नगर्ने तर मेरो दैनिक जीवनमा अप्ठ्यारो पार्ने २ लक्षण छन्। यी लक्षणहरू सँग म सधैँ लडिरहेको हुन्छु । केही काम गर्न निकै धेरै बेर लाग्छ, जस्तै लुगा फेर्न, जुत्ता लगाउन, तरकारी काट्न ।

अर्को लक्षण जसले मेरो जीवन नै नर्क बनाइदिएको छ, त्यो हो, थकान । यस्तो थकान जुन आराम गरेर या सुतेर नि जादैन । राती राम्रै सुतेपनी, बिहान उठ्दै खेर म थाकेको हुन्छु। यो थकानले ब्यायम गर्न पनि नसक्ने बनाउछ। सबैले शरीर चलाऊनुपर्छ, एक्सर्साइज गर्नुपर्छ भन्छन्, तागत भएपो गर्नी? घरमा बसेको धेरै समय म पल्टेर नै बिताउछु।

मेरो यो लेख लेख्नुको उद्देश्य के हो भने, जति जानाले पनि पढ्नुहुनेछ, कृपया माथि मैले उल्लेख गरेका लक्षणहरू कसैमा देख्नुभयो भने, नरम  भईदिनुहोला । उसलाई पनि पर्किन्सन्स् हुन सक्छ !