पार्टी नरहन पनि सक्छ, तपाईंहरूसँग भेट नहुन पनि सक्छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पार्टी नरहन पनि सक्छ, तपाईंहरूसँग भेट नहुन पनि सक्छ: प्रधानमन्त्री ओली



काठमाडौं- पछिल्लो परिस्थितिबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठक सकिएको छ। बैठकबाट केहि मन्त्रीहरू निस्किएका छन् भने प्रधानमन्त्रीले आफू निकट मन्त्रीहरू र सल्लाहकारहरूसंग अहिले परामर्श गरिरहेका छन् ।

मन्त्रीहरूसंगको छलफलमा प्रधानमन्त्रीले पार्टी गम्भीर संकटमा रहेको बताएका थिए । सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले पार्टी नरहन पनि सक्ने संकेत गरेका थिए । प्रधानमन्त्रीलाई उद्घृत गर्दै भने, “पार्टी नरहन पनिसक्छ तपाईंहरूसँग भेट् नहुनपनि सक्छ तपाईंहरू अहिलेको परिस्थितिबारे जानकारी हुनुहुन्छ ।”

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

प्रधानमन्त्री ओलीले गरेको यस्तो प्रस्तावमा उर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले भने आपत्ति जनाएका थिए । उनीहरूले यस्तो कदम चाल्न नहुने र नयाँ समझदारी गरेर एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताएका थिए ।

बैठकबाट निस्किएका मन्त्रीहरूको फरक फरक धारणा आइरहेका छन् ।

पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल डाकिएको छ । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् ।