जब प्रधानमन्त्रीलाई देखेर प्रचण्ड भावुक बनेर फर्किए... - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जब प्रधानमन्त्रीलाई देखेर प्रचण्ड भावुक बनेर फर्किए…



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा चर्किएको विवाद अनेक प्रयत्नका बावजुद ज्युँ का त्यूँ छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा टसमस भएका छैनन् तर उनीमाथिको संकट भने झनै बढ्दै छ ।

आफ्नै बोली र कार्यशैलीका कारण अत्यन्त कमजोर अवस्थामा पुगेका ओली हरेक दिन विवादमा आउन थालेका छन् । करिव एक महिना अगाडी सुरू भएको स्थायी कमिटि बैठक अनेक बहानामा स्थागित गर्ने र दुई अध्यक्ष दैनिक बैठक बस्ने, आफ्ना अडान राख्नेबाहेक की प्रगती हुन सकेको छैन । स्थायी कमिटीका सदस्य राजीनामा नमागी नछाड्ने अठोटमा छन् । प्रधानमन्त्री भने कुनै हालतमा पद नछाड्ने अडानमा छन् ।

सोमबार भानु जयन्तीमा बालुवाटारमा भएको एक कार्यक्रमले भने प्रधानमन्त्री ओली इतिहासमै कमजोर र हतास महसुस गरेका छन् । भारतीय सत्ताको मूल मर्म र आस्थामा चोट पुग्नेगरी राम नेपालकै अयोध्यामा जन्मिएको अभिव्यक्ति दिएपछि ओलीले थप संकट निम्त्याएका छन् । नेकपा भित्र उनकै गुटका नेताहरूले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेपछि प्रधानमन्त्री निकै गलेको स्रोतले बताएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीसंग वार्ता गर्न बालुवाटारमै पुगेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीको हालत देखेर आफै हतास बने । प्रचण्ड पार्टीको आन्तरिक समस्या हल गर्न प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार प्रचण्डले ओलीलाई यतिधेरै गलेको अहिलेसम्म देखेका थिएनन । प्रधानमन्त्रीको त्यो अवस्था देखेर प्रचण्डले तपाईं आराम गर्नुस छलफल बरू पछि गरौंला भन्दै फर्केको प्रसङ्ग सुनाउँदै स्रोतले भन्यो पछिल्लो अभिव्यक्तिले ओली निकै क्षीण बनेका छन् ।

पटक पटक बिरामी पर्दापनि प्रधानमन्त्री ओली यतिधेरै तनावपूर्ण अवस्थामा प्रचण्डले कहिलै देखेका थिएनन । निकै तनाव देखेपछि प्रचण्ड खुमलटार फर्किएका थिए । केहीबेर चितवनमा भएका र राम, अयोध्याका कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको पछिल्लो बैठक निकै तिक्ततापूर्ण भएपछि उनीहरूबीच भेट भएको थिएन । पार्टी कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह होस् भनेर प्रचण्डले ओलीसँग सकारात्मक कुराकानी भइरहेको बताए पनि अवस्था भने निकै जटिल नै छ ।

प्रचण्ड-माधव नेपाल समुहका नेताहरूले भने प्रधानमन्त्री ओलीले नयाँ–नयाँ विवाद सिर्जना गरेर मूल विषय ओझेल पारेको आरोप लगाउन थालेका छन् । अयोध्या नेपालमै पर्छ भनेर दिएको पछिल्लो अभिव्यक्ति पछिल्लो विवादलाई विषयान्तर गर्नका लागि ल्याएको तुरूपको रूपमा उनीहरूले अर्थ्याएका छन् ।