पोखरा महानगरमा पाँच दलीय गठबन्धन भन्दा एमाले एक्लै बलियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पोखरा महानगरमा पाँच दलीय गठबन्धन भन्दा एमाले एक्लै बलियो



स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीको भागमा परेपछि देशब्यापी चर्चा भैरहेको छ । एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा एसले पोखरा महानगरमा जित्ने दाबी गर्दै आएको छ ।

गठबन्धनबाट चुनाव लडेपनि रोचक त के छ भने लामो समय नेकपा एमालेमा रहेर काम गरेका सहकर्मी नेताबीचमै प्रतिस्पर्धा हुने छ। कतिपयले यसलाई पूर्वएमाले र एमालेबीचको भिडन्त भन्ने गरेका छन् । गठबन्धनले पोखरा महानगरमा नेकपा एसबाट मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि लामो समय एउटै पार्टीमा काम गरेका नेताबीच नै प्रतिस्पर्धा हुने भएको हो।

एकीकृत समाजवादीमा एमालेकै पूर्व नेताहरू छन्। एमाले महानगर कमिटीले मेयरका लागि १२ जनाको नाम सिफारिश गरेको छ। जसमा केन्द्रीय सदस्यहरू भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी छन्।

त्यस्तै, उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिश भएको छ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मेयरको उम्मेदवार उठाउन पाउने भएपछि थुप्रैले दाबी गरेका छन्। अहिलेसम्म १३ जना आकाङ्क्षी देखिएको एकीकृत समाजवादी कास्कीले जनाएको छ। एकीकृत समाजवादीबाट दाबेदार भनेका सबै लामो समय एमालेमै काम गरेका नेता हुन्।

दुवै पार्टीबाट मेयरका दाबेदार रहेका कतिपय त तीन दशकदेखि सँगसँगै एउटै पार्टीमा काम गरेका नेता छन्। लामो समय एउटै पार्टीमा रहेका काम गरेका नेता फरक फरक पार्टीबाट उम्मेदवार बन्ने भएपछि पोखराको चुनावी माहोल रोचक बनेको छ।

उनीहरू पुरानो सम्बन्धले फाइदा पुग्ने पनि अपेक्षा गरेका छन्।एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले आफ्नो पार्टीमा एमालेकै जिन भएकाले एमालेबाट मत तान्न सकिने बताउँछन्। एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपाने भने गठबन्धनमा देखिएको किचलोले एमाले उम्मेदवारलाई सजिलो हुने बताउँछन्।

पाँच दलीय गठबन्धन, नयाँ मतदाता र पार्टी विभाजनले गर्दा एमाले बढी क्षति भएको आंकलन गरिएको छ। अघिल्लो निर्वाचनको मत हेर्दा भने एमाले बलियो देखिन्छ। अहिलेको अवस्था हेर्नेहो भनेपनि एमालेलाई त्यति धेरै अफ्ठ्यारो नभएको स्थानीय नेताहरू बताउँछन् । कांग्रेसकै कतिपय नेताहरू एमालेमा त्यति धेरै क्षति नभएको बताउने गरेका छन् ।

एमालेले गठबन्धनमा रहेका पार्टी नेतालाई पनि तानिरहेको छ। गत निर्वाचनमा जसपाबाट मेयरको उम्मेदवार बनेका हुम गुरुङलाई स्वागत गरेको छ। त्यस्तै, जसपाका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश समिति इन्चार्ज गणेशमान गुरुङ पनि एमालेमा प्रवेश गरेका छन्। अर्का केन्द्रीय सदस्य देवी सुवेदी र गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ पनि एमालेमा गएका छन्।

पोखरामा एकीकृत समाजवादीले पनि राम्रो संगठन बनाएको बताइन्छ । नेकपा एसका नेताहरूको दाबी अनुसार एमालेभित्र ठुलो क्षति भएको बताउँछन् । अहिले पनि नेकपा एसका नेताहरू एमाले कार्यकर्ता तान्न जोड गरिरहेका छन् ।

नेकपा एसले महानगरका ३३ वटै वडामा कमिटी गठन गरेको छ। पोखरामा आठ हजार संगठित सदस्य भइसकेको एकीकृत समाजवादीको दाबी छ। त्यसमा अधिकांश एमालेबाटै आएका नेता तथा कार्यकर्ता हुन्। पोखरा महानगरमा ३३ वडा छन्। २०७४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयर सहित २२ वटा वडाध्यक्ष जितेको थियो। कांग्रेसले १३ वटा वडामा जितेको थियो।

अहिले पाँच दलीय गठबन्धन, नयाँ मतदाता र नेता- कार्यकर्ताको पार्टी अदलबदल भएकाले पाँच वर्ष अघिको रिजल्ट अनुसार अनुमान गर्नु गलत हुने विश्लेषकहरूले बताउने गरेका छन् ।

पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेपछि सत्ता गठबन्धनबाट कांग्रेस विरोशामा उत्रिएको छ । यहि अवस्था रहेको खण्डमा कांग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने देखिएको छ ।

कास्की कांग्रेस सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाट एवं पोखरा महानगर कार्यसमिति सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले विज्ञप्ति निकालेर विरोध जनाएका थिए। उनीहरूले जनाधार कांग्रेससँग धेरै भएकाले कांग्रेसले नै टिकट पाउनुपर्ने माग राखेका थिए। केन्द्रमा निर्णय भएको दिन कांग्रेस महानगर कार्यसमितिले जिल्ला कार्यालयमा तालाबन्दी नै गरेको थियो। अहिले मेयरका लागि उम्मेदवार समेत सिफारिश गरेर पठाइसकेको छ।

३९ हजार मतदाता थपिए
वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा ३९ हजार ६४५ मतदाता थपिएका छन्। २०७४ सालमा एक लाख ६८ हजार ६७ मतदाता थिए भने एक लाख २५ हजार ९३२ मत खसेको थियो।

यस पटक दुई लाख सात हजार ७१२ मतदाता पुगेको निर्वाचन कार्यालय, पोखराले जनाएको छ। नयाँ थपिएका युवा मतदाता निर्णायक हुने देखिएको छ।

यस्तो थियो विगत
२०७४ सालमा मेयरमा १६ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई एमालेका मानबहादुर जिसीले १३ हजार ७०४ मतान्तरले पराजित गरेका थिए। एमालेका जिसीले ६० हजार ११८ र कांग्रेसका कुँवरले ४६ हजार ४१६ मत पाएका थिए।

तेस्रो नम्बरमा रहेका संघीय समाजवादीका उम्मेदवार हुम गुरुङले तीन हजार १७० मत पाएका थिए। त्यस्तै, राप्रपाकी गीता गुरुङले दुई हजार २७२, अखण्ड नेपालका मोती गिरीले २९६, नेकपा (माले) का टेकनाथ भण्डारीले २५८, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्रीले २०६ र स्वतन्त्र उम्मेदवार अमनविक्रम थापाले १४० मत पाएका थिए।