बालुवाटारमा छलफल: अब प्रचण्ड निर्मम बन्ने यस्ता छन् संकेत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालुवाटारमा छलफल: अब प्रचण्ड निर्मम बन्ने यस्ता छन् संकेत



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी विवादले साउन १३ पछि फरक मोड लिएको छ । दुई अध्यक्षबीच बोलचाल बन्द भएको हल्ला चलिरहेकै बेला आइतबार ओली-प्रचण्डबीच वार्ता भएको छ ।

गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको हो । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्ड यसअघि पूर्व माओवादीका नेतालाई लिएर वार्तामा जाने गरेकामा पूर्व एमालेभित्रको समेत एउटा समूहको नेतृत्व गरेको देखाउन झलनाथलाई पनि लगेका हुन् ।

प्रचण्डले पछिल्लो समय गलत विचार र व्यक्तिलाई बोकेर पार्टी एकता टिकाउन नसकिने बताउंदै आएका छन् । शुक्रबार जिल्लाबाहिरका केहि नेताहरूलाई गरेको ब्रिफिङ अनुसार प्रचण्ड निर्मम बन्ने संकेत देखिएको छ । उनले ओलीले सधैभरी गल्ती गरिरहने र आफूहरूले हात मात्रै जोड्ने अवस्था भएकाले गलत प्रवृत्ति बोकेर गन्तव्यमा नपुगिने बताएका थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र तपाई हामी सबै मिलेर ल्यायौं । यो भर्खरको बच्चा छ र त्यसलाई स्याहार्ने जिम्मा चाहिँ, जसलाई यो मन परेकै थिएन, उहाँ (केपी ओली)को जिम्मामा परेको छ । उहाँ यो बच्चा (गणतन्त्र)लाई चिमोट्नुहुन्छ । हामी त आमा भयौं, आफैंलाई चिमोटे जस्तो मुटुमा च्वास्स हुन्छ । ए नचिमोट् न भन्दा बढ्ता कुरा गर्ने हो ? अठ्याइदिन्छु भन्छ । अझ बढी अठ्याउन थाल्छ । किन अठ्याएको भन्यो भने मारिदिन्छु भन्छ । अनि हामीले ‘होइन होइन, मार्न चैं नमार्नुस् । बरु हामीले के-के गर्नुपर्छ भन्नुस्’ भन्नु पर्ने जस्तै बडो विडम्बनाको अवस्था छ ।’ उनले नेताहरूसंग भनेका थिए ।

प्रचण्डले ताप्लेजुङ जिल्ला कमिटीका नेताहरुसँग पनि अहिले ओलीले नक्सामा राजनीति गरेर महान राष्ट्रवादी बन्न खोजेको तर, नक्साको अन्तर्य भने अर्कै भएको बताएका थिए । नक्सा छाप्न लगातार दबाब दिनेहरुलाई दलाल बनाएर आफू महान बन्न खोज्ने, देशभर जुलुस निकाल्न लगाउने जस्ता कार्य ओलीले गरेकोमा उनले प्रवृत्तिकै प्रश्न उठाएका थिए ।

त्यतिमात्र होइन आफ्ना आफ्ना बिचार लिएर केन्द्रीय कमिटीमा छलफल चलाउन पनि प्रचण्डले ओलीलाई प्रस्ताव गरेका थिए । उनले अब सहमतिमा आउन नखोजे केन्द्रीय कमिटी बैठकबारे अडान लिने बिझिएको छ ।

साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।

सो बैठकले अर्का अध्यक्ष ओलीसँग संवाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा दुई अध्यक्षबीच संवाद गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार ओहोरदोहोर गरेका थिए । प्रचण्ड ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अडानमा छन् भने ओली दुवै पद नछाड्ने अडानमा छन् ।