प्रचण्डको ब्रिफिङ: देउबालाई ८० सिटमा मनाउँदै छु, यत्ति भए सबै सुरक्षित हुन्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको ब्रिफिङ: देउबालाई ८० सिटमा मनाउँदै छु, यत्ति भए सबै सुरक्षित हुन्छ



काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ८० सिटमा मनाउन कोशिस गरिरहेको बताएका छन् ।

शनिबार बिहान माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको एक नेताले बताए । एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।

बैठकमा कार्यदलका सदस्यहरूले गठबन्धनको कार्यदलमा हालसम्म भएको छलफलबारे रिपोर्टिङ समेत गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको बताइएको छ ।

बैठकमा प्रचण्डले कार्यदलका सदस्यहरूबीच छलफल भैरहेको र कांग्रेसलाई ८० सिटमा मिलाउन आफूले प्रयत्न गरिरहेको बताएका थिए । उनले कांग्रेस ८० सिटमा मानेको खण्डमा आफूहरू पनि सुरक्षित हुने र गठबन्धन चुनावपछि सम्म जाने बताएका थिए ।

नेताहरूको रिपोर्ट सुनेपछि प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मानेको खण्डमा सबैलाई राम्रो हुने बताए ।
बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गरिएको बताइएको छ ।