प्रचण्ड र बाबुरामबीच गोप्य छलफल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रचण्ड र बाबुरामबीच गोप्य छलफल



काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ ।

लामो समयको अन्तरालमा भएको छलफलमा उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रम र केपी ओलीको कदममा कसरी मिलेर अघि बढ्नेबारे छलफल भएको छ।

उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ। उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन्। त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ।

शुक्रबार नेकपाले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको स्रोतले जानकारी दिएको छ।

डा. भट्टराईले पनि ट्विट गर्दै भेटवार्ता भएको पुष्टि गरेका छन्। भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ/संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन्।

यस्तै भट्टराईले अगाडी लेखेका छन, ‘ ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आ-आफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं !’