प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता, यस्तो छ अबको तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता, यस्तो छ अबको तयारी



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य वार्ता भएको छ । यता नेकपा एमालेसँग बाम गठबन्धनको चर्चा चलिरहेका बेला उनीहरूबीच गोप्य वार्ता भएको खुलेको छ ।

स्थानीय तहको निर्वाचनपछि पूर्वमाओवादीहरूलाई एकत्रित बनाउने अभियानमा लागेका माओवादी अध्यक्ष प्रचण्डले क्रमभङ्ग गरेरै भएपनि माओवादी घटकहरूलाई एक बनाउन विभिन्न चरणमा नेताहरूसँग छलफल गरिरहेका छन् ।

मओवाद, कम्युनिष्ट र जनआन्दोलनको औचित्य सकिएको भन्दै नयाँ शक्ति गठन गरेर अहिले जसपासम्म आइपुगेका डा बाबुराम भट्टराई अहिले समाजवादी केन्द्र बनाउनुपर्ने भन्दै वकालत गरिरहेका छन् । लामो समयदेखि समाजवादी केन्द्र निर्माणको कोशिसमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको स्रोतले जनाएको छ।

पार्टीबाट अलग्गिएर एकअर्काको उछितो काड्ने प्रचण्ड र बाबुराम अहिले एकै अभियानमा लागेको खुलेको छ । यहि शिलशिलामा उनीहरूले उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पुगेर वार्ता गरेको स्रोतको दाबी छ ।
शनिबार भएको वार्तामा समाजवादी केन्द्र निर्माणको वषयमा छलफल भएको स्रोतले बतायो । शनिबारको भेटमा बाबुराम र प्रचण्डले विभिन्न बिषयमा छलफल गरेको बताइएको छ । पछिल्लो समय बाबुराम एमालेसँग नजिकिएको विषयमा पनि कुराकानी भएको स्रोत बताउँछ ।

यसअघि पनि बाबुराम भट्टराई, प्रचण्ड र उपेन्द्र यादवबीच समाजवादी केन्द्र निर्माणबारे पटक पटक उपराष्ट्रपति पुनकहाँ नै बसेर छलफल भइसकेको थियो। माओवादी अध्यक्ष प्रचण्डले आजै एक कार्यक्रमा पूर्व माओवादीहरू एक हुने वातावरण बनिसकेको संकेत गरेका थिए ।