प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साता, भारतमा नेपाली च्यानल हेर्न सहज बनाइने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साता, भारतमा नेपाली च्यानल हेर्न सहज बनाइने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् ।

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताइन् ।

मन्त्री शर्माले प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् । उनले इन्टरनेसनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन् ।

भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको उनले बताइन् । उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन् ।

मन्त्री शर्माले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरुसँग कुरा राखेको बताइन् । भनिन्, “हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्ने कुरा उठाएका छौँ ।”

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन् । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उनको भनाइ छ ।