प्रचण्डको एक गोली तीन निशाना: नेकपामा भुईँचालो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको एक गोली तीन निशाना: नेकपामा भुईँचालो



तर कतिपय राजनीतिक विश्लेषकहरूले भने प्रचण्डले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई साइजमा ल्याउन, भारतलाई लाइनमा ल्याउन र अमेरिकाप्रतिको पुरानै नीतिलाई निरन्तरता दिन एकसाथ यो कार्डको प्रयोग गरेको बताएका छन् ।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक-पटक चर्चामा आउने नेता हुन्। त्यति मात्र होइन जतिबेला प्रचण्ड चर्चामा हुन्छन् त्यति बेला सरकारलाई नै निकै अप्ठ्यारो महसुस हुन्छ।

एकता गर्दाको सहमति मिडियामा निकाल्दा होस् वा भेनेजुएला प्रकरणमा होस् उनी एउटा न एउटा चर्चाको विषय बन्दैगर्दा देशमा तलदेखि माथिसम्म उथलपुथल पार्छन्। जतिबेला प्रचण्डले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शक्ति राष्ट्र अमेरिकाले हस्तक्षेप गरेको भन्दै विज्ञप्ति निकाले त्यसको भोलिपल्ट नै अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा माग्यो। यसमा रोचक त के थियो भने जतिबेला प्रचण्डले विज्ञप्ति निकाले त्यो समयमा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली स्विट्जरल्याण्डको डाभोसमा थिए।

यो प्रकरणले पार्टी देखि सरकारलाई अप्ठ्यारोमा पारेको थियो। प्रधानमन्त्री ओली नेपाल फर्केपस्चात कार्यक्रममा उनीहरूको धारणा बाझिन थाल्यो। परिस्थिति यस्तो सम्म बन्यो कि यो देशमा परराष्ट्र मन्त्रालय र परराष्ट्र नीति नै छैन जस्तो।

परराष्ट्र नीतिसँग जोडिएर सात महिना पछि फेरी यस्तै घटना घटेको छ जसका नायक भने प्रचण्डनै देखिएका छन्। यो विषय पनि अमेरिका र परराष्ट्र मन्त्रालयसँग जोडिएको छ र कतिपयले यसलाई प्रचण्ड फेरी चिप्लिएको विश्लेषण गरेका छन्। अहिलेको काण्डले पनि सरकार र परराष्ट्र मन्त्रालयलाई निकै अप्ठ्यारोमा पार्ने देखिएको छ।

मङ्गलवार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको उल्लेख गरेका छ । र त्यसमा नेकपाका अध्यक्ष प्रचण्डको नाम नै किटान गरिएको छ।

चीनको विज्ञप्तिमा भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताकाबारेमा उल्लेख छ ।

विशेषरुपमा दाहालसँगको भेटवार्ताका क्रममा नेपालले इन्डो-प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको जनाइएको छ ।

दाहालको भनाइलाई उद्धृत गर्दै विज्ञप्तिमा ‘नेपाल असंलग्न नीतिलाई दृढताका साथ अङ्गीकार गर्छ र तथाकथित इन्डो-प्यासिफिक रणनीतिलाई अस्वीकार गर्छ’ भन्ने उल्लेख छ ।

होटेल म्यारियटको भेटमा भएको यो कुरा चिनियाँ विदेश मन्त्रालयले बेइजिङबाट विज्ञप्ति निकालेपछि मात्र थाहा भएको छ। आफ्नो रणनीतिलाई तथाकथित भनेपछि अमेरिकाले फेरि सरकारसँग प्रचण्डको भनाइबारे स्पष्टीकरण मागेको छ।

दुई तिहाइको सरकार चलाइरहेको पार्टीका अध्यक्षले हिन्द तथा प्रशान्त महासागर क्षेत्रका देशहरूमा आफूले सुरु गरेको रणनीतिलाई ‘होच्याए’ को कुरालाई अमेरिकाले गम्भीर रूपमा लिएको देखिन्छ।

अमेरिकाबारे प्रचण्डको अभिव्यक्ति बेइजिङबाट सार्वजनिक भएकाले पनि विषय झन् पेचिलो बनेको छ। प्रचण्डको धारणाबारे बेइजिङको विज्ञप्तिबाट थाहा पाएकोमा अचम्म परेको दूतावासको भनाइ छ।

यो काण्डलाई अझै विवादित बनाउने गरी सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले भने- इन्डो प्यासिफिक, बिआरआई अथवा अरू कुनै मामलामा किन नहोस् स्वतन्त्र मुलुकको हैसियतमा हामी छिमेकी र अरू मित्र राष्ट्रहरूसित सचेत भएर व्यवहार गर्छौँ, गर्दै आएका छौँ। हाम्रो पूर्ववत्: मान्यताहरूमा कुनै विचलन र परिवर्तन आएको छैन।

तर, प्रचण्डले भने आफूले चिनिया विदेशमन्त्री यीसँग गरेको कुराकानीलाई स्वाभाविक भएको ठानेका छन् । प्रचण्ड स्रोतका अनुसार प्रचण्डले सोचेरै अभिव्यक्ति दिएको र यसको दीर्घकालीन असर पनि राम्रो आउने बताउँछन् । तर प्रचण्डले तथाकथित जस्ता शब्द भने प्रयोग नगरेको चीनले आफ्नो अनुकूल बनाएको दाबी गरेका छन्।

तर यो विषयले नेकपामा भने भुईँचालो नै गएको छ। प्रचण्ड इतरका नेताहरूले भने प्रचण्डको यो प्रवृत्ति सरासर गलत भएको बताएका छन्। उनीहरूले प्रचण्डले चीनसँग नजिक हुन र खुसी पार्छु भनेर बोल्दा यसपालि पनि प्रचण्ड चिप्लिएका हुन्।

नेकपाका एक नेताले हिमालपोस्टसँग कुरा गर्दै भने, अध्यक्ष प्रचण्डले चीनले यति आक्रामक भएर विज्ञप्ति निकाल्ला भनेर अनुमान नगरी बन्द कोठामा बोल्नुभयो तर परिणाम अर्कै आयो भएको यत्ति हो भन्दै उनले थपे तर प्रचण्डका यस्ता पटक- पटकका गल्तीले सरकारलाई नै निकै अप्ठ्यारो भएको छ।

तर कतिपय राजनीतिक विश्लेषकहरूले भने प्रचण्डले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई साइजमा ल्याउन, भारतलाई लाइनमा ल्याउन र अमेरिकाप्रतिको पुरानै नीतिलाई निरन्तरता दिन एकसाथ यो कार्डको प्रयोग गरेको बताएका छन् ।

तर यस्ता घटनाबाट सरकार र नेताहरूले पाठ नसिक्दासम्म कुनै अन्य मुलुकहरूले हेप्ने चलन भने चालि नै रहन्छ । कूटनीतिक मामिलालाई हचुवाको भरमा लिने बानी परेका नेपाली नेताले आफ्ना भेटघाट आधिकारिक पदाधिकारीको रोहवरमा नगर्दा कुराकानीको ‘रेकर्ड’ सरकारसँग पनि हुँदैन । रेकर्ड नभएपछि अर्को देशले जे भन्छ, त्यही सत्य हुनजान्छ ।