प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु नपर्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु नपर्ने



काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवश्यकता नभएको बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन। त्यो आवश्यकता परेको छैन,’ बैठकपछि पाण्डेले भने।

शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। उसले आफ्ना मन्त्री भने गत माघ २२ गते नै सरकारबाट फिर्ता बोलाएको थियो।

संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ।

रास्वपा यसअघि सरकारबाट बाहिरिएर समर्थनमात्रै दिइरहेकोले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धनको तर्क छ। बहुमतका लागि १३८ सिट आवश्यक पर्नेमा प्रधानमन्त्रीलाई अझै कांग्रेस, माओवादी, जसपा, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति, जनमतसहितका १५८ सांसदको समर्थन रहेको देखिन्छ। यसैले बहुमत नगुमाएकोले पनि उनले पुनः विश्वासको मत लिनु नपर्ने तर्क गठबन्धनको छ।

यसअघि सरकारमा सहभागी भएकै बेला राप्रपा र एमाले सरकारबाट फिर्ता भएपछि प्रधानमन्त्रीले ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएका थिए।