प्रचण्डले भने: 'अब वार्ताका लागि बालुवाटार छिरिन्न' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डले भने: ‘अब वार्ताका लागि बालुवाटार छिरिन्न’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला बिहिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल झनै तिक्ततापूर्ण बनेको छ ।

स्रोतका अनुसार आजको छलफल झनै तिक्ततापूर्ण भएकाले प्रचण्डले अब प्रधानमन्त्री ओलीसंग छलफल गर्न बालुवाटार नआउने बताएका छन् । विवाद झनै बढेको छ, छलफल सकारात्मक नभएपछि प्रचण्डले पार्टीको बैठक तत्काल राख्नुपर्ने बताउंदै बाहिरिएका छन् स्रोतले भन्यो ।

छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् ।

नेकपाकै एक नेताका अनुसार अध्यक्ष प्रचण्डले पार्टीको बैठक र पार्टी फुटाउने आरोपबारे कुरा उठाएका थिए । त्यसमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ नदिएको बताएका छन् ।

पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए । उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए ।

आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए ।