प्रधानमन्त्री प्रचण्डले मागे एमाले अध्यक्ष ओलीसँग सहयोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री प्रचण्डले मागे एमाले अध्यक्ष ओलीसँग सहयोग



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नका लागि प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका छन् ।

शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपणका लागि ढिलाइ भएको भन्दै विधेयक पारितका लागि सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

टीआरसी विधेयक संसद्मा पेस भएर सैद्धान्तिक छलफल भइसकेको छ । तर, एमालेले बृहत छलफल नगरी विधेयक पारित गर्ननहुने अडान राख्दै आएको छ ।

त्यस्तै, छलफलमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन टुंगिएको थियो ।