प्रचण्डले ओलीलाई साथ दिएको कांग्रेसको निष्कर्ष - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डले ओलीलाई साथ दिएको कांग्रेसको निष्कर्ष



झापा- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ् दिएको आशंका गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारको एक कार्यक्रममा यो आशंका ब्यक्त गरेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर प्रधानमन्त्री बन्नुपर्यो, ओलीलाई हटाउनुपर्यो भन्दै प्रस्ताव लिएर आउनुले यस्तो शंका उब्जिएको देउवाको संकेत थियो । देउवाले नयाँ सरकार गठनमा माओवादीकै कारणले अलमल भएको समेत बताएका छन्।

बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै देउवाले पहिले माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।

‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन्। भाग्न पनि खोज्या छैन,’ देउवाले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्। शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन्। सर्मथन फिर्ता लिएकै छैन। अब हेर्नुस् त, के पत्याउने? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक देउवालाई सरकारको नेतृत्व लिन आग्रह गर्दै आएका छन्। उनले सार्वजनिक कार्यक्रममा पनि आफू प्रधानमन्त्री हुन नखोजेको र देउवालाई नेतृत्व लिन आग्रह गरेको बताउँदै आएका छन्।

त्यस्तै, कांग्रेस सभापति देउवाले अझै नयाँ सरकार गठनका लागि सांसदको संख्या निश्चित नभएको बताएका छन्। ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ। संख्या निश्चित हुनुपर्‍यो,’ देउवाले भने।

सरकार गठनका लागि आवश्यक सांसदको संख्या निश्चित भएपछि नेतृत्व लिन तयार रहेको बताए। धोका नहुने गरि काम गर्न खोजेको उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि आफ्नो नेतृत्वका सरकार गठनका लाािग पहल गर्ने निर्णय गरिसकेको छ।