प्रचण्ड-नेपाल समूह राष्ट्रपतिलाई भेट्न शितल निवासमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड-नेपाल समूह राष्ट्रपतिलाई भेट्न शितल निवासमा



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री ओलीको राजिनामा मागेका नेताहरू राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका हुन्।

आइतबार बिहान ११ बजे नेताहरू शितल निवास पुगेका छन् । अहिले नेताहरू र राष्ट्रपतिबीच छलफल भैरहेको बताइएको छ ।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सवा घन्टा छलफल गरेका थिए।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सोही विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ।