प्रचण्डलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने नेता खनालको प्रस्ताव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने नेता खनालको प्रस्ताव



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल बलदेवले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब मुलुकको कार्यकारी राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

आइतबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले भने, ‘प्रचण्डजी कार्यकारी राष्ट्रपति बन्नुपर्छ, मुलुकमा अब कार्यकारी राष्ट्रपति चाहिन्छ भन्ने विषयमा दलहरु सहमत छन् । एमालेले पनि त्यही चाहिरहेको छ ।’

त्यस्तै, उनले अब हुने संसदको निर्वाचनमा पार्टीले अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा अघि सार्ने जनाए । उनले भने, ‘हो, स्वभाविक रुपमा हामीले उहाँलाई नै प्रधानमन्त्रीको रुपमा अघि सार्ने हो, उहाँ दुई पटक प्रधानमन्त्री भएको व्यक्ति अनि देशको सर्वमान्य लिडर हो, प्रधानमन्त्री मात्रै होईन् । यसको मतलव यो होईन कि पार्टीभित्र अरु नेताहरु प्रधानमन्त्री बन्न योग्य हुनुहुन्न भन्ने होईन, हुनुहुन्छ, नारायाणकाजी र रामबहादुर थापा हुनुहुन्छ, तर सबै हिसाबले अहिलेको राजनीतिलाई मिलाएर जान सक्ने नेता भनेको नै प्रचण्ड हो, ढुक्क हुनुस्, उहाँकै नेतृत्वमा अबको सरकार बन्छ ।’

त्यस्तै, उनले पार्टीको चुनावी रणनीति पनि सुनाए । पछिल्लो स्थानीय तहको निर्वाचनमा जसरी माओवादीले आफ्नो एजेण्डा जनतासामु पुर्याएको छ अबको निर्वाचनमा जनताले माओवादीलाई राम्रो मत दिने उनको विश्वास थियो ।

माओवादीमा प्रचण्डको विकल्प भएको नेता देखिएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रचण्डबाहेक हजारौं नेता छन् । यो देशमा विगतमा पहिलो पार्टी भएको पार्टीसँग नेता छैन भन्ने, यो त नेतैनेताहरुकै पार्टी हो, नेतृृत्वको रुपमा प्रचण्डजी हुनुहुन्छ, पार्टी उहाँमा गोलबन्द छ । यो राम्रो कुरा हो। तर हल्का विवाद हुनु र बहस हुनु त सामान्य कुरा हो ।’

त्यस्तै, उनले अब माओवादी पार्टीको नेतृत्व नै मुलुकलाई आवश्यक रहेको समेत जिकिर गरे ।

खनालले आउने निर्वाचनमा को सँग तालमेल हुन्छ भन्ने कुरा अहिल्यै नै भन्न सकिने अवस्था नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘अहिले भन्दैनौं । प्राथमिकतामा, कुनै अमुक पार्टीसँगमात्रै हो भन्ने हामो नीति होईन । अबको चुनावमा अलिकति मिलाएर जाऔं भनेकै हो । एमालेसँग तालमेल हुन सक्छ । त्यस्तै मधेशवादी र एमालेसँग तालमेल हुन्छ ।’