देउवालाई ज्ञानेन्द्रको हालतमा पुराइदिने प्रदीप पौडेलको चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवालाई ज्ञानेन्द्रको हालतमा पुराइदिने प्रदीप पौडेलको चेतावनी



काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिले मनोमानी गरे ज्ञानेन्द्र शाहको हालतमा पुराइदिने चेतावनी दिएका छन् ।

उनले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउंदै यस्तो बताएका हुन् ।

रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संविधानमाथि रहने दाऊपेच गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको कुन हालत भयो, त्यो स्मरण गर्न नेतृत्वलाई आग्रह गरे ।

पौडलले भने, ‘जति नै त्यागी तथा आर्दश नेतृत्व भएपनि विधान विरुद्ध चल्ने अधिकार कसैलाई छैन,’ ।

मुलुकमा कम्युनिष्ट नेतृत्वको अधिनायकवादी सरकार विरुद्ध लड्ने बेलामा पार्टी भित्र गुटगत अभ्यास हावी भएकाले देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले गुट विशेषयका नभई तमाम कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए ।

पौडेलले आफ्नो भूमिको सुरक्षा गर्न नसक्ने वर्तमान सरकार कसरी जनताको सरकार हुन सक्छ भनी प्रश्न समेत गरेका छन् ।

वाइडबडी घोटाला, बालुवाटार जग्गा काण्ड, राज्यको सम्पत्तिमा यति समूहको दोहन जस्ता घटनाबाट सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको प्रमाणित भएको उनले बताए ।

पाइला पाइलामा जनताबाट कर उठाइरहेको सरकार कर्मचारीलाई तलब खुवाउन भने विदेशी सामु लम्पसार परेको भन्दै पौडेलले देशको अर्थतन्त्र धराशायी भइसकेको दाबी गरे ।

लोकतान्त्रिक समाजवादको जगमा अडेर पार्टीका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तको पुर्नव्याख्या गर्नु काग्रेसको आजको आवश्यकता भएको समेत पौडेलले बताए ।