प्रजातन्त्र दिवस भव्यतासाथ मनाइने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रजातन्त्र दिवस भव्यतासाथ मनाइने



काठमाडौँ, माघ २६

सरकारले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतासाथ मनाउने निर्णय गरेको छ । फागुन ६ देखि ८ गतेसम्म तीन दिन सो दिवस देशव्यापी मनाउने सरकारको तयारी छ ।

दिवस तयारीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा एकहजार एकसय पाँच सदस्यीय मूल समारोह समिति गठन गरिएको गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभयो । सो समितिमा उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रधानन्यायाधीश, सभामुख, महानगरपालिकाका प्रमुखलगायत रहनुभएको छ ।

यसअघिसम्म सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने दिवसको औपचारिक कार्यक्रममा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो । तर, यस वर्षदेखि सर्वसाधारणको समेत सहभागिता गराउन प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम टुँडिखेलमा प्रधानमन्त्रीको निर्देशअनुसार सर्वसाधारणलाई समेत प्रवेश दिने तयारी गरिएको गृहमन्त्रालयका सचिव रेग्मीले बताउनुभयो ।

मङ्गलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिलेको जस्तो औपचारिकतामै दिवस सीमित गर्न भएकाले वल्की सर्वसाधारणलाई समेत कार्यक्रममा सहभागिताका लागि तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देश गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय दिवस कसलाई मान्ने भन्नेमै अन्योल रहेकाले त्यसको गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव रेग्मीले प्रजातन्त्रलाई सफल र भव्य बनाउन तीनवटा उपसमिति समेत गठन गरिएको जानकारी दिनुभयो । सञ्चारमन्त्रीको संयोजकत्वमा २२ सदस्यीय प्रचार प्रसार उपसमिति, महानगरपालिका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय मञ्च सजावट उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १६ सदस्यीय ग्राउन्ड कवाज, झाँकी व्यवस्थापन उपसमति गठन गरिएको छ ।