अवसर मात्रै लिने प्रकाश शरण कांग्रेसकै उम्मेदवारविरुद्ध 'भिलेन' बन्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अवसर मात्रै लिने प्रकाश शरण कांग्रेसकै उम्मेदवारविरुद्ध ‘भिलेन’ बन्दै



काठमाडौं- एउटा पनि चुनावमा भाग नलिएरै पार्टीका हरेक अवसर हत्याउने गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध भिलेनको भूमिका खेल्न थालेका छन् । उनले पार्टीका निर्वाचित पदाधिकारीमाथि नै आक्रमण गर्न थालेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निकट रहेर क्षमता भएका नेताहरूलाई पाखा लगाएर हरेक अवसर आफैले लिने महतले गगन थापा, शशांक कोइराला लगायतका नेताहरू विरुद्ध आगो ओकल्न थालेका छन् ।

उनले गगन थापा, शशांक कोइराला लगायतका नेताहरूलाई धेरै बाजा नबजाउन भन्दै चुनावी परिणामलाई नै प्रभावित गर्नेगरी अभिव्यक्ति दिन थालेका छन् । उदियमान नेताहरूमाथि उनले धावा बोल्न थालेपछि कांग्रेसमै उनको आलोचना हुन थालेको छ । उनले आगामी निर्वाचनपछि सभापति देउवा नै प्रधानमन्त्री हुने भन्दै अन्यलाई निषेध गर्न खोजेका छन् ।

महतले मंगलबार पार्टीभित्रका कसैले पनि प्रधानमन्त्री हुने भन्दै मत मागेर बाजा बजाउन जरुरी नभएको भन्दै निषेधको भाषा बोलेका छन्।

कांग्रेस महामन्त्री गगन थापा, शशांक कोइरालालगायतका नेताले आगामी चुनावपछि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेका बेला सभापति निकट प्रवक्ता महतले यस्तो बताएपछि उनी आलोचनाको केन्द्रमा परेका छन्।

डा. महतले प्रधानमन्त्रीको बाजा बजाएर पार्टी हित नहुने दाबी गरे। उनले भने, ‘अहिले प्रधानमन्त्री वा दलको नेताबारे बाजा बजाएर हिँड्नुपर्ने कारणै छैन।’ सभापति देउवाबाहेकका अन्य कुनै कांग्रेस नेताले आफूलाई प्रधानमन्त्रीको दावेदार मानेर भोट माग्दा पार्टीको पक्षमा माहोल नबन्ने उनको दाबी छ।

पार्टी नेतृत्व गरिरहेका सभापति देउवाले चुनावपछि आफैं प्रधानमन्त्री हुन्छु भनिरहेका बेला अरूहरूले होइन म हुन्छु, म हुन्छु भन्न आवश्यक नभएको उनको धारणा छ। महतले कांग्रेसको ध्यान पार्टीले टिकट दिएका र गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित भइरहेका बेला प्रधानमन्त्रीको नाममा भोट माग्नु अनुचित रहेको बताए।

महतको यस्तो अभिव्यक्तिले कांग्रेसभित्र असन्तुष्टि देखिन थालेको छ । कतिपय नेताहरूले पार्टीभित्र लोकतन्त्रको अभ्यास हुनुपर्ने भन्दै महतको अभिव्यक्तिको खण्डन गर्न थालेका छन् ।