पौडेल समूह छोडेर प्रकाशमान सुटुक्क दिल्ली पुग्नुको रहस्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पौडेल समूह छोडेर प्रकाशमान सुटुक्क दिल्ली पुग्नुको रहस्य



काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्ली पुगेका छन् । कांग्रेस महाधिवेशनको रस्साकस्सी र चर्को प्रतिस्पर्धा देखिएको बेला उनी सुटुक्क दिल्ली पुगेका छन् ।

स्रोतका अनुसार महाधिवेशनको तयारीकै लागि सिंह दिल्ली पुगेका हुन् । यसअघि कांग्रेस उपसभापति विमलेन्द्र निधि पनि दिल्ली पुगेर फर्किएपछि सभापतिको उम्मेद्वारी घोषणा गरेका थिए । नेता सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयाँ दिल्ली गएका हुन् ।

नाड्डालाई भेट्ने कार्यक्रम तय भएपनि उनले त्यहाँ को-कोलाई भेट्दैछन् भन्नेबारे भने जानकारी हुन सकेको छैन । बर्दियामा बुधबार गणेशमान सिंहको सालिक अनावरणपछि उनी त्यतैबाट नयाँ दिल्ली हानिएका थिए ।

नेता सिंह शनिबार नै नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । देउवासँग प्रतिस्पर्धाका लागि इतरपक्षबाट एकजना मात्रै उम्मेदवार तय गर्न दबाव बढिरहेका बेला सिंहको भारत भ्रमणलाई नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् । केही दिनअघि महामन्त्री शशांक कोइराला पनि भारत गएका थिए । भारतमा उपचारत दुई सांसद प्रदीप गिरी र कर्मा घलेलाई भेट्न भनी भारत पुगेका कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितका भाजपा नेताहरुलाई भेटका थिए ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संस्थापनइतर खेमाबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सिंह र नेता शेखर कोइराला मुख्य प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा सिंह भारत गएका हुन् । केही दिनअघि सिंहले मन्त्रिपरिषद् विस्तारलाई लिएर आफ्नै खेमाका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग असन्तुष्टि जनाएका थिए ।

उनले अहिले नेता पौडेल समूह पनि छाडिसकेका छन् । महाधिवेशनमा चर्को प्रतिस्पर्धा हुने पक्का भैसकेको छ । कांग्रेस नेताहरू भारतकै आशिर्वादमा चलिरहेको चर्चाबीच सिंह दिल्ली पुग्नुलाई रहस्यमय मानिएको छ ।