राजा गुहार्दै जनता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राजा गुहार्दै जनता



काठमाडौं, १९ फागुन ।

बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ हुन थालेको छ । तत्कालीन श्री ५ महाराजाधिराजको जिल्ला भ्रमणका क्रममा उहाँप्रति जुन प्रकारको सम्मान प्रकट भयो त्यसले ‘खोला फर्कंदै’ गरेको सङ्केत गरेको छ ।

यही फागुन ५ गते सिमराबाट सुरु भएको उहाँको भ्रमणमा अनपेक्षित स्वागत–सत्कार मात्र नभई मुलुक अप्ठ्यारो अवस्थामा पुगेकाले यसलाई चुपचाप हेरेर नबस्न आग्रहसमेत गरिएको थियो । यस्तो आग्रह गर्नेमा सर्वसाधारण मात्र नभएर विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेत थिए ।

राजनीतिक दलका कतिपय प्रतिनिधिले आफूहरू दलमा आबद्ध भएको, तर राजनीतिक दलभन्दा मुलुकको अस्तित्व महत्वपूर्ण रहेको बताउँदा राजा ज्ञानेन्द्रले गम्भीरतापूर्वक कुरा सुन्नुभए पनि कुनै प्रतिक्रिया भने दिनुभएको थिएन । सिमरा विमानस्थलबाट दुई किलोमिटर टाढा रहेको प्रभु निवासमा बस्नुभएका राजपरिवारका सदस्यहरू विमानस्थलबाट हिँडेरै निवासस्थलसम्म पुग्नुभएको थियो ।

बाटोमा लाम लागेर सर्वसाधारणले उहाँहरूलाई स्वागत गरेका थिए । फागुन ७ गते तत्कालीन बडामहारानी कोमलको जन्मदिन मनाउन चितवनको सौराहा जाने क्रममा पनि बाटो–बाटोमा रोकेर उहाँहरूको भव्य स्वागत गरिएको थियो । फागुन ७ गते चितवनको सौराहास्थित एक होटेलमा राजपरिवारका सदस्यहरूले तत्कालीन बडामहारानीको जन्मदिवस मनाएका थिए ।

कार्यक्रममा पूर्वयुवराज पारसबाहेक परिवारका सबै सदस्य साथमा रहेको बताइन्छ । राजकुरामारी प्रेरणा, उहाँको परिवार तथा धीरेन्द्र एवम् प्रेक्षाका छोरीहरू जन्मदिनको कार्यक्रममा सरिक हुनुहुन्थ्यो । सौराहाबाट राजपरिवार सदस्य फर्कंदै गर्दा चितवनमा गौपूजन यज्ञमा उहाँहरू सरिक हुनुभयो । चितवनस्थित गौ संरक्षण समितिको निमन्त्रणामा राजा ज्ञानेन्द्र उक्त समारोहमा सरिक हुनुभएको हो ।

गौपूजन समारोहमा उहाँको भव्य स्वागत गरिएको थियो । उक्त अवसरमा समितिलाई राजाबाट एक लाख रुपैयाँ प्रदान गरिएको थियो । चितवनबाट फर्किएर राजा ज्ञानेन्द्र महाशिवरात्रिका दिन वीरगञ्जको माईस्थानस्थित शिव मन्दिर पुग्नुहुँदा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणले उहाँको भव्य स्वागत गरेका थिए । उक्त दिन माईस्थान र त्यसवरपर राजालाई हेर्न, स्वागत गर्न र कुराकानी गर्नका लागि लागेको भीड हेर्दा यो मुलुकमा राजसंस्था छैन भन्ने ठान्न नै नसकिने अनुभूति गरिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

भीडबाटै कतिपयले राजनीतिमा मियोको अभाव रहेको गुनासो गरेका थिए । ‘राजनीतिमा मियो हरायो, राजा आउन बाध्य गरायो’ जस्ता नारा पनि लागेका थिए । जानकारीअनुसार यही फागुन २४ गते नवलपरासीको दुम्कौलीस्थित चौधरी ग्रुपद्वारा निर्माण गरिएको शाश्वत धामको प्रथम पूजनका लागि राजा ज्ञानेन्द्रलाई निम्ता प्राप्त भएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र छोराहरूले उक्त शाश्वत धामको निर्माण गरेका हुन् ।

सात बिघा जमिनमा फैलिएको शाश्वत धामको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिएको छ भने प्रथम पूजनका लागि राजालाई निमन्त्रणा गरिएको छ । उद्घाटन समारोहमा काँची कामाकोठी पीठका जगतगुरु शंकराचार्य जयन्द्र सरस्वती र श्री रविशंकर विशिष्ट अतिथिका रूपमा रहने बुझिएको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।