राजनीति ,नैतिकता र लोभ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजनीति ,नैतिकता र लोभ !



बिरेन्द्र महरा ,काठमाडौँ

सामान्यत राजनीतिको उद्देश्य लक्ष्य रणनीति कार्यक्रम आदि सबै देश र जनताको भाग्य र भविष्यको लागि केन्द्रित गरिन्छ । यसमा पारदर्शिता इमानदारीता नैतिकता अनुशासन पनि त्यतिकै हुनु पर्छ भन्ने जुन सैद्धान्तिक मान्यता छ तर भित्री रूपमा यो सबैले हावा खाएको अवस्था छ ।

जतिजति घटनाक्रम हरू बढदै गरेका छन् त्यति त्यति राजनीति प्रति हेर्ने दृस्ठिकोण मा दिनानुदिन परिवर्तन हुँदै आएको छ । राजनीति आफैँमा अबगुनले भरिपूर्ण त हुँदै हैन तर यसलाई राजनीति कर्मीहरूले आआफ्नो ईन्टेस्टको रूपमा प्रयोग गर्नाले यस प्रति जनमानसमा व्यापक,घोर,उत्तेजनापुर्ण तरिकाले सकारात्मक नकारात्मक प्रतिक्रियाहरू आएको पाइन्छ । राजनीति को व्याख्या विश्लेषण गर्नु भन्दा पहिले राजनीति कर्मी कस्तो चरित्र बोकेको छ भन्ने कुरा लाई नजिक बाट हेर्न जरुरी हुन्छ ।

लोभ लालचले मान्छेलाई अनैतिक बनाउने र अनैतिक मान्छे ले राजनीतिको बिडो समाल्ने हो भने राजनीतिका आधारभूत मूल्य र मान्यतामा गम्भीर प्रश्न चिन्ह उठाउनु को साथै राजनीति आफ्नै भाग्य र भविष्य कस्तो हुने भन्ने सम्म झल्काउन्छ ।आफू भित्र रहेको गलत स्वार्थ र प्रवृत्ति लाई राजनीति को आड मा ढाकछोप गर्न,पद पैसा र पावर को लोभ मा राजनीति प्रति तानियो भने त्यो राजनीति कर्मी बाट विकास र समृद्धि ,जनताको भाग्य र भविष्यको सुत्रधार भन्दा नि नैरास्य्ता दुख कष्ट झेल्नु मात्र पर्ने हुन्छ,त्यो पात्र र प्रवृत्ति देशकै लागि घाँडो हुने निश्चित हुन्छ । देश कसरी बनाउने भन्ने भिजन मिसन र योजना भएका बौद्धिक सर्कल का मान्छे हरू ले राजनीति गर्‍यो भने स्वभावैले देश र जनताको कल्याण हुन्छ ।

अपेक्षाकृत देश निर्माणमा काम पनि हुने गर्दछ ।तर स्रोत साधन माथि गिद्दे दृस्ठि लगाएर,आफ्नो अन्तिम लक्ष्य खराब क्रियाकलाप बाट प्रेरित रहेको छ भने सोचेको खोजेको र अपेक्षा गरेको काम हुने मा दुक्क रहन मुस्किल हुन्छ । राजनीति हरेक तह र तप्कामा बुझ्न जरुरी छ ,तर गर्ने सवालमा कसले गर्ने र कहाँ गर्ने र यसको क्षेत्र कस्तो के हुने भन्ने केही निश्चित नम्स हरू रहेका छन्,सीमा हरू रहेका छन् ।सीमा लाई नाघेर जानू पक्कै पनि कुनै पनि ठाउँ र बरिबेश मा उपयुुक्त हुँदैन । नेपाल को सन्दर्भमा राजनीति गर्न कै लागि भनेर यदाकदा बाहेक संविधान कै धारा हरुमा राजनीतिक दल सम्बधी व्यवस्था उल्लेख गरेको पाइन्छ ।

यो लोकतन्त्र को बहुत सुन्दरता मध्ये को एउटा पक्ष हो , लोकतन्त्र त्यसमा पनि संवैधानिक ग्यारेन्टी गरेको कुरालाई ग्रहण नगर्ने भन्ने कुरै उठदैन ।त्यति मात्र हैन नेपालको अहिलेको संविधानको धारा १७ को उपधारा २(ग) मा राजनीतिक दल खोल्ने प्रत्येक नागरिकलाई स्वतन्त्रता र भाग २९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था नै गरी दिएको छ । यसको अर्थ जति दल भएनी केही फरक पर्दैन भन्ने मात्रै बुझाएन कि राजनीति गर्न पाउछ भन्ने नि हो । तर नेपाल मा संविधान कानुन नियम एन नियमावलीको मनपरि व्याख्या गरिएको छ ,धज्जी उडाइएको छ ।

भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ,अब पुरै देश केन्द्र र प्रदेश को निर्वाचन मा होमिएको छ । यसै सिलसिलामा हामीले अनेक दृश्य हरू देख्न पाएका छौ । भारत का लागि नेपाली राजदूत दिपकुमार उपाध्याय राजदूत पदबाट राजीनामा दिएर सान्सद हुन लालायित भएको घटना होस या पूर्व डिआइजी नवराज सिलवाल प्रहरी मुख्यालयबाट राजीनामा स्वीकृत नहुदै औपचारिक कार्यक्रम गरेर नै एमाले प्रवेश गरेको घटना देखि पदमै बसेर राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेल प्युठान मा नेपाली काँग्रेस को निर्वाचन प्रचार प्रसार मा जुटेको घटना सेलाउन नपाउदै देशभरिबाट निजामती कर्मचारी नै दल को उम्मेदवार बन्न सिफारिस भएको घटना नै किन नहोस ! यी र यस्तै प्रवृत्ति ले पदिय मर्यादा र गरिमा राख्न नसकेको भन्ने पुस्ट्याउछ ।

आफ्नो कार्यकाल पूरा हुनु भन्दा ३ वर्ष अघि नै राजदूत उपाध्याय काँग्रेसको सान्सद हुन लालायित हुनु, बहालवाला डिआईजि विभिन्न लोभ र ईष्र्या ले हुन या अरू नै कारण एमाले मा औपचारिक रूपले प्रवेश गर्नु आफैमा असोभनिय विषय मात्रै हैन प्रहरी आचरण एन नियमावली विरुद्ध गतिविधि हो । त्यति मात्रै हैन भूकम्प पीडित लाई उद्धार पुनस्थापना जस्तो जिम्मेवार र महत्त्वपूर्ण कार्य छोडेर पदिय मर्यादा विपरीत आफू सार्वजनिक पद धारण गरेको मान्छे हु भन्ने कुरा समेत लाई तिलान्जली दिएर काँग्रेस को चुनावी प्रचार प्रसारमा जानू डाक्टर गोविन्द पोखरेल को कर्तव्य नैतिकता जिम्मेवारीबोध माथि प्रशन चिन्ह उठेको छ ।

त्यसो त राजदूत छोडेर सान्सद बन्नु हुँदैन भन्ने हैन तर उनी जे जस्तो परिस्थितिमा भारतको लागि राजदूत बनेका थिए ,त्यो अवस्थाअनुसार अहिलेको कदम कुनै कोण बाट राम्रो मान्न सकिन्न । सुशील कोइराला नेतृत्वको सरकारले उनलाई भारतको लागि राजदूत नियुक्त गरे पनि “सत्ता परिवर्तनमा सन्लग्न भएको,सरकारको जानकारी अनुमति बिना कार्यक्षेत्र छोडेको र भारतीय राजदूत सङ्ग मिलेर कुटनितिक मर्यादा विपरीत कार्य गरेको” भनेर तत्कालीन केपि ओली को सरकारले किर्ता बोलाएको थियो । उनलाई फिर्ता बोलाउदा सरकार लाई विभिन्न आरोप प्रत्यारोपण सम्म गर्न भ्याए ।सरकार लाई कूटनीति सिकाउन सम्म पछि परेनन । केही समयमै राजनीतिक उथलपुथल भयो ,प्रचण्ड को सरकार बन्यो उनी फेरि त्यही देश को लागि राजदूत सिफारिस भएको यथार्थ हाम्रो सामु छ । यति रस्साकस्सी का बिच मा राजदूत पड्काएका उपाद्याय कार्यकाल नसकिदै किन फेरि सान्सद बन्न लोभिएका ? कुटनैतिक क्षेत्र मै नराम्रो छाप बस्ने गरी यिनले किन यस्तो कदम चाले ? यो पदिय लोभको अनन्त श्रृङ्खला नभएर के हो !

त्यस्तै प्रहरी प्रमुखको दौडमा रहेका नवराज सिलवाल , जसलाई तत्कालीन सत्ता साझेदारका नेता शेर बहादुर देउवाले एमालेको मान्छे भनी आइजिपी नियुक्त नगर्न प्रचण्ड र गृहमन्त्री बिमलेन्द्रलाई भने पछि जयबहादुर चन्दलाई  अगाडि सारिएको थियो । आफू मारमा परेको अन्याय मा परेको भनी यिनले अदालत गुहारे ! धेरै समय पछि अदालतले यिनको मुद्दा बदर गरी दियो । सरकार को नियुक्ति संवत् सदर भयो । कारण जे होस आफू भन्दा कनिष्ठ अधिकृतको निर्देशनमा आफू नबस्ने सोचेर राजीनामा दिए । राजीनामा अहिले सम्म स्वीकृत नभएको प्रहरी मुख्यालय र गृह स्रोत ले भनेको छ ।राजीनामा स्वीकृत नभएको भने कानुनत उनी प्रहरी नै हुन ।तर उनी एक कार्यक्रमका बिच एमाले प्रवेश गरे ,जुन प्रहरी ऐन नियमावली को ठाडै धज्जी उडाउनु पनि हो। यिनले किन राजनीति रोजे त ? कारण थुप्रै होलान् त एउटा देखिने कारण भनेको लोभको अनन्त पराकाष्ठा नै मान्न सकिन्छ ।

उता प्युठान काँग्रेसले आउदो चुनाव को लागि केन्द्रमा सिफारिस गरे पछि गोविन्द पोखरेललाई अहिले भ्याइनभ्याई छ , यद्यपि निर्वाचन आयोगले जिल्ला छोडन निर्देशन नै दिन पर्‍यो । आफ्नो पदिय जिम्मेवारी के हो भन्ने भुलेर राजनीति को झन्डा मुनि जानूलाई लायक सम्झिन सकिन्न । त्रिभुवन बिश्वबिद्धालय का उपकुलपति तिर्थ खनिया पनि काँग्रेसको सिफारिसमा परेको कुरा पनि अचम्मित सुन्नै नसकिने कुरा हो तर नेपालको यथार्थ यस्तै छ ,नेपाली हरू यस्ता कुराहरू पचाएर नै यहाँ सम्म आइपुगेका छन्,उनीहरू लाई अभ्यस्त हुन बाध्य पारिएको छ ,विवश पारिएको छ ।

अनन्त श्रृङ्खला कै दौडमा सुनिदैछ देश भरबाट निजामती कर्मचारी पनि चुनाव लडन सबै दलहरूको सिफारिसमा परेका छन् । निजामती ले आफ्नो हकहितका लागि सामूहिक सौदाबाजी मा माध्यम बाट कर्मचारी कै हित को लागि काम गर्न त पाउला , सङ्गठन बनाउन छुट होला तर आफ्नो पेशागत मर्यादा ,ऐन नियम र नियमावली विपरीत राजनीतिक दलको झोले कार्यकर्ता बन्ने हो भने स्थायी सरकार को नाम ले चिनिने निजामती को हालत के होला ! के यिनी हरू ले जनताको सेवक भएर काम गर्लान? निस्पक्षता को आधारमा काम गर्लान ? सन्का गर्नु पर्ने सुविधा प्रयाप्त छ ! यिनलाई पद को लोभ ले तानेको हैन भनेर यिनको पक्षमा बोल्न सकिने अवस्था छदै छैन ।

राज्यको चौथो अङ्ग ,आफूलाई निस्पक्ष्यता तटस्थता , जनताको तेस्रो अँखा भन्न नछाड्ने पत्रकार हरू पनि पहिले नै दलको सिफारिसमा परिसकेको यथार्थ लुक्दैन । सूचना जानकारी नपाएका हरू लाई सूचना जानकारी दिने,कुनाकन्दरा मा भएका घटना हरू लाई सत्य तथ्य पत्ता लगाइ अन्यायी लाई उचित न्याय दिने सोचिएको पत्रकार दलको सिफारिसमा पर्नु कदापि पत्रकारिता मूल्य र मान्यता मा आधारित छैन ।
शिक्षा क्षेत्र को सम्पूर्ण बागडोर समालेका उपकुलपति समेत राजनीतिक दल को सङगठित कार्यकर्ता हुनु बिडम्पना मात्रै हैन,हामो अधोगती तर्फको यात्रा हो भन्ने समेत बुझिन्छ ।शिक्षा स्वास्थ जस्तो संवेदनशील विषयमा राजनीतिक नियुक्ति पदस्थापन गर्दै जाने हो भने भावी पुस्ता लाई कस्तो राजनीतिक पद्धति सुम्पने?कस्तो उपलब्धि सुम्पने? बिचारणिय प्रश्न स्वाभाविक छन् । जनताको प्रत्यक्ष जीवन सङ्ग सरोकार जोडिएको क्षेत्रमा राजनीति गरेर के गर्न खोजिएक हो भन्ने सबैमा चिन्ता जाग्नु लाई अन्यथा मान्न हुन्न्न ।स्वतन्त्र डररहित निर्भीक तरिकाले काम गर्ने वातावरण मिलाउन सक्नु पर्छ ।

व्यक्तिगत लाभ र हानि भन्दा पनि देश को समृद्धि र सर्बाणग्गिक विकास लाई मद्यनजर मा राख्नु पर्छ । देश र जनताको स्वार्थ लाई सधैँ माथि राख्न सक्यो भने देश विकास पर को कुरा हैन । सबै पक्ष र समूहले व्यक्तिगत लाभ हानी लाई छोडने प्रयत्न गर्नु पर्छ । लोकतन्त्र मा राजनीतिक सङ्गठन को स्थापना हुनु नौलो कुरा हैन,सुन्दर्ता पनि हो तर राजनीति मा प्रशासन ,विकास मा राजनीति ,न्याय मा राजनीति ,कानुन मा राजनीति गर्नु अस्व्यम्भाबी गलत कुरा हुन । राजनीति सही ठाउँ मा सही व्यक्ति ले सही तरिकाले गर्‍यो भने राजनीति को अभिस्ट पूरा हुन्छ ।

उच्च पदमा पुग्नकै लागि न्याय का मूर्ती भनेर चिनिने न्यायाधीश हरुले पार्टी कार्यालय मा जिउहजुरी गरेको हामीले पढिसकेका छौ , देखिसकेका छौ । राजनीतिक लाभ र महत्त्वकान्छ्या पूरा गर्नकै लागि भए पनि राजनीतिक्रमि इतर का पक्ष हरू राजनीति मा आउनु अस्वभाविक त हुँदै हो ,त्यसले त्यो क्षेत्रमा पार्ने गलत प्रभाव ले नि बढावा पाएको हुन्छ । आआफ्नो पद,जिम्मेवारी,दायित्व र क्षेत्रमा इमान्दारी नैतिकता का आधार मा काम गर्ने हो भने राजनीति प्रति को विश्वास भरोसा बढनेछ भने राजनीतिक मूल्य र मान्यता सिद्धान्त दर्शन हरू सही साबित हुने दिशामा जाने छन् ।

त्यसैले लोभ लालचमा फसेर जिम्मेवारी बाट नपन्छिउ ,पाएको जिम्मेवारी लाई सही हिसाबले बहन गर्न सक्नु नै सही अर्थमा सफल हुनु हो । यस्ता किसिमका सोच बिचार र प्रवृत्तिहरूलाई घर समाज गाउँ क्षेत्र हुँदै केन्द्र सम्म उब्जन नदिउ साथै यस्तो प्रवृत्ति लाई कुनै पनि क्षेत्र र तह बाट प्रोत्साहन नगरौं ! त्यसमा पनि राजनीति कर्मी हरू ले नै यस्तो कार्यलाई अगाडी बढाउदै छन् भने यो भन्दा सोचनिय गम्भीर घतलाग्दो विषय अरू के हुन सक्छ र ।