रहस्यमय घटना: चुल्ठो काटियो भन्दै प्रहरी शरणमा महिला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रहस्यमय घटना: चुल्ठो काटियो भन्दै प्रहरी शरणमा महिला



वीरगन्ज, ५ भदौ

भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन्। यस्तै घटना रुपन्देहीमा पनि घटेको सार्वजनिक भइसकेको छ ।

साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा गरी २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ। साउन २९ गते एक, साउन ३२ गते एक, भदौ १ गते ६, भदौ २ गते सात र भदौ ३ गते पाँच गरी एक सातामा २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।
वीरगन्ज महानगरपालिका १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस भएर नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि पर्सामा पहिलो पटक चुल्ठो काटिएको घटना सार्वजनिक भएको खबर अन्नपूर्ण पोस्टको अनलाइन संस्करणले जनाएको छ ।
त्यसयता दैनिक पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना सार्वजनिक हुँदै आएको छ। भदौ ३ गतेसम्म सार्वजनिक भएका २० घटना मध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउँकोको पछाडि पट्टीको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र अस्पतालमा पुर्याइएपछि होशमा आउँदा चुल्ठो काटिएको अवस्था भेटिएको बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।
केहीपीडित महिलाले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउँकोमा प्रहार गरेपछि बेहोश भएको र होशमा आउँदा कपाल काटिएको अवस्थामा भेटिएको बताएको गिरीले जानकारी दिए।
अहिलेसम्म सार्वजनिक भएका २० घटनामा १४ देखि ३५ वर्षसम्मका युवती र महिला पीडित छन्। प्रहरी उपरीक्षक गिरीले २० मध्ये आठ महिलाको चुल्ठो रातको समयमा र बाँकी १२ महिलाको दिउँसो चुल्ठो काटिएको बताए।