बाबु र छोराको अनौठो संयोग: एकै दिन डिएसपी, एकैदिन फुली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाबु र छोराको अनौठो संयोग: एकै दिन डिएसपी, एकैदिन फुली



काठमाडौँ- नेपाल प्रहरीको इतिहासमा आज अनौठो संयोग मिलेको छ । यस्तो संयोग बिरलै मात्र आउने गर्छ । बाबु र छोराले एकै दर्जाको दर्ज्यानी चिह्न सँगै लगाउने अवसर प्राप्त गरेका छन् ।

तस्तो सुनौलो अवसर पाउने दुई जना बाबु राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी हुन्। नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक(डिएसपी) मा उनीहरू एकैपटक बढुवा भएर एकैपटक बाबु-छोराले दर्ज्यानी चिह्न लगाए ।

बिहीबार प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका दर्ज्यानी चिह्न लगाउने ६३ जनामध्ये उनीहरूको यो अनौठो संयोग नै भयो । उनीहरूसहित बढुवा भएका डिएसपीलाई बुधवार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

बाबु राजेन्द्र जनपदतर्फ र छोरा ध्रुब प्राविधिकतर्फबाट डिएसपीमा बढुवा भएका हुन् । राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक(असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्जिनियर इन्स्पेक्टरमा भर्ना भएका थिए ।

बुबा राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्स्पेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्ष पछि भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डिएसपीमा बढुवा हुने संयोग मिलेको थियो ।