ओलीको राष्ट्रवाद कागको बाघ, जालझेल बाहेक केही ढंग छैन: पौडेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको राष्ट्रवाद कागको बाघ, जालझेल बाहेक केही ढंग छैन: पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई प्रधानमन्त्री ओलीले कागजी बाघमात्र बनाएको टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रियतालाई कागजी बाघ बनाएकै कारण प्रधानमन्त्री ओलीले नेपाली भूमी फिर्ता गर्न नसक्ने दाबी गरे । वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर सरकारले भारतसँगको वार्ताको वातावरण बिगारेको उनको आरोप थियो ।

वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको जिकिर गरे । उनले कम्युनिस्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरेको आरोप लगाए ।

पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिस्ट सरकार असफल भएको बताए । कम्युनिस्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेलबाहेक अरु केही काम गर्ने ढंग नभएको नेता पौडेलको भनाइ थियो ।

उनले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् किन भन्नेमा खबरदारी गर्न आग्रह गरे ।

उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।