रामचन्द्र पौडेल र चिनियाँ राजदूतको भेटले कांग्रेसमा हंगामा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

रामचन्द्र पौडेल र चिनियाँ राजदूतको भेटले कांग्रेसमा हंगामा



काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी नेपालमा निकै सक्रिय छिन् । उनको सक्रियतालाई कतिपयले रुचाएका छैनन् । नेकपाको पछिल्लो विवाद समाधानका लागि पनि यान्छीले कूटनीतिक मर्यादा नाघेर कसरत गरिरहेको बुझाइ कतिपयको छ ।

यिनै यान्छीले मंगलबार भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटिन् । नेपाल–चीनको दौत्य सम्बन्ध कायम भएको ६३ औं वर्षगाँठको अवसरमा आपसी सम्बन्धबारे कुराकानी भएको पौडेलले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । कोभिड १९ नियन्त्रणमा चीनको सहयोगबारे पनि कुराकानी भएको पौडेलले उल्लेख गरेका छन् ।

‘चीन सरकारले कोभिड १९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भयो,’ पौडेलले विज्ञप्तिमा थप प्रष्ट पार्दै भनेका छन् ।

तर कांग्रेसभित्र भने यो भेटलाई शंकाको नजरले हेरिएको छ । पौडेलले सार्वजनिक गरे भन्दा पृथक विषयमा पनि छलफल भएको हुनसक्ने आशंका कतिपयको छ ।

पार्टी सभापति शेरबहादुर देउवासँग नभेटी पौडेलसँग मात्रै यान्छीले भेटवार्ता गरेकाले सार्वजनिक गरिएभन्दा पृथक विषयमा पनि छलफल भएको हुनसक्ने अनुमान यसखाले शंकाको सुविधा लिनेहरूले गरेका छन् । त्यस्तै, पार्टी केन्द्रीय समिति बैठकसँग जोडेर पनि दुईबीचको भेटवार्तालाई हेरिएको छ ।

‘पार्टी सभापतिसँग नभई वरिष्ठ नेता पौडेलसँग पार्टी केन्द्रीय समिति बैठक बसिरहेको समयमा छलफल भएकाले सार्वजनिक गरिएभन्दा फरक उद्देश्य पूर्तिका लागि भेटवार्ता भएको थियो कि भन्ने आशंका उब्जिएको छ,’ कांग्रेसका एक देउवा पक्षीय नेताले भने ।