एक करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने अर्घाखाँची खानदहका रामप्रसाद खनाल प्रहरी खोरमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एक करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने अर्घाखाँची खानदहका रामप्रसाद खनाल प्रहरी खोरमा



क्यानडाको पिआर र जागिर मिलाइदिने भन्दै एक करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने युवक पक्राउ परेका छन् ।

अर्घाखाँची खनदह आरुबुटाका ३६ वर्षीय रामप्रसाद खनाललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । कन्सलटेन्सीमार्फत क्यानडा पठाउने भन्दै उनले १८ जनालाई ठगेको प्रहरीले जनाएको छ ।

बत्तीसपुतलीमा ब्राइट फ्युचर कन्सलटेन्सी सञ्चालन गर्ने खनालले ‘जब लेटर’ मगाई क्यानडा पठाउने भन्दै प्रतिव्यक्तिमार्फत १२ देखि १८ लाख रुपैयाँ लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

आफूहरू ठगिएको भन्दै दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र शेरचन, रविनकुमार रौनियार, कृष्ण पाण्डे, देवबहादुर राई, नवीनकुमार झाले प्रहरीमा उजुरी दिएका छन् ।

उजुरी दिने अन्यमा उमेश खड्का, रेखा कडेरिया, कल्पना कडेरिया, निशा बराल, रीमा क्षेत्री, विक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनील घिमिरे र बबिता गुरुङ छन् ।

१८ जनाबाट ६५ लाख १४ हजार पाँच सय रुपैयाँ लिएपछि खनाल फरार भएका थिए । ठगिनेहरू अरू पनि भएको र ठगिएको रकम करिब एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान प्रहरीको छ ।

फरार भएको तीन महिनापछि खनाल पक्राउ परेको अपराध महाशाखाका इन्सपेक्टर गोविन्द पन्थीले बताए । कन्सलटेन्सीका अर्का सञ्चालक उपेन्द्र अधिकारी भने अझै फरार छन् ।

क्यानडाबाट जब लेटर नै मगाउने आश्वासन दिई उनले धेरैलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

source:nayapatrika.com