राष्ट्रपतिप्रति देउवा नरम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रपतिप्रति देउवा नरम



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले ‘आफ्नो चित्त नदुखेको’ बताएका छन्।

सभापति देउवाले राष्ट्रपतिको कुरालाई ‘सामान्य रूपमा’ लिएको उनका स्वकीय सचिव भानु देउवाले आइतवार बताए।

बीबीसी न्यूज नेपालीसँग सङ्‌क्षिप्‍त कुरा गर्दै उनले भने, “सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ उहाँ [सभापति देउवा] ले त्यसरी लिनुभएकै छैन।”

“उहाँले राष्ट्रपतिको कुरालाई सामान्य रूपमा लिनुभएको छ। राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेको उहाँले भन्नुभयो,” स्वकीय सचिव देउवाले थपे।

बीबीसी नेपालीले राष्ट्रपति भण्डारीको भनाइबारे देउवाको प्रतिक्रिया मागेपछि स्वकीय सचिव देउवाले उनीसँग कुरा गरेर यस्तो बताएका हुन्।

काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा शुक्रवार गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भइरहेका छन्।

एकथरीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीमा हुने अस्पष्टतालाई लिएर राष्ट्रपतिले होच्याएको तर्क गरेका छन् भने अर्कोथरीले राष्ट्रपतिले बोलेका कुरालाई गलत रूपमा अर्थ्याइएको बताइरहेका छन्।

शनिवार भण्डारीका एक सल्लाहकारले राष्ट्रपतिलाई “अनावश्यक रूपमा विवादमा मुछ्न खोजिएको” बीबीसी न्यूज नेपालीलाई बताएका थिए।

के भनेकी थिइन् राष्ट्रपतिले?

शुक्रवारको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस सभापति देउवापछि सम्बोधन गरेकी थिइन्।

उनले भनिन्, “यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ। नेताहरू जोसिएर बोल्नुभयो। फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो।”

राष्ट्रपति भण्डारीले त्यति भनेपछि दर्शकदीर्घाबाट हाँसोको फोहरा फुट्यो। अनि राष्ट्रपति पनि मुसुक्क हाँसेको सार्वजनिक भएको भिडिओमा देखिन्छ।

त्यसपछि उनले भनिन्, “तर के बोल्नुभयो भन्ने कुरा चाहिँ मैले आमरूपमा बुझिनँ।”

पूर्ववक्ताले बोलेका कुरा आफूले नबुझ्नुमा मञ्चको व्यवस्थापनसम्बन्धी समस्या भएको हुन सक्ने राष्ट्रपतिले बताइन्।

आफ्नो कानतिर हात लग्दै राष्ट्रपति भण्डारीले भनिन्, “कान सुनिएन, यहाँ बुझिएन। त्यसैले यहाँहरूले के बोल्नुभयो भन्ने कुरा अब मिडियाबाट थाहा पाइएला।”

यी सबै भनिरहँदा राष्ट्रपति भण्डारीले कहीँ कतै पनि नेता देउवाको नाम उल्लेख गरेको चाहिँ पाइएन।

मञ्चमा अतिथिहरूलाई सुन्नमा भएको कठिनाइबारे उल्लेख गर्दै उनले सुझाव दिइन्, “वक्ताहरूले बोलेका कुरा मञ्चमा बस्ने अतिथिगणले पनि सुन्ने व्यवस्था मिलाइदिनुहोला।”

देउवा के बोलेका थिए?

राष्ट्रपति भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका कांग्रेस सभापति देउवाले विभिन्न विषयमा सरकारको आलोचना गरेका थिए।

उनले ऐन तथा विनियमहरू ल्याएर वर्तमान सरकारले संविधानको मूलभूत मर्ममाथि नै प्रहार गर्न खोजेको आरोप लगाए।

देउवाले प्रश्न गरे, “दुईतिहाइको सरकार भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ? ”

धेरै अधिकारहरू आफूमा केन्द्रित गर्न थालेको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरे।

उनले पुनः प्रश्न गरे, “किन चाहियो सबै अधिकार उहाँलाई? आफ्ना मन्त्रीमाथि विश्वास गर्न नसक्नेले के देश चलाउँछन्?”

ठूलो सङ्घर्षपछि प्राप्त स्वतन्त्रतालाई कसैले चाहँदैमा खोस्न नसक्ने देउवाले उल्लेख गरे।

उनले थपे, “हामी सहयोग गर्न चाहन्छौँ। हामीले रेलिङ भत्काएका छैनौँ, कुर्सी भाँचेका छैनौँ। केही नगरेर हेपेको हो हामीलाई?”

के भने राष्ट्रपतिका सल्लाहकारले?

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले यो घटनाबारे भएको आलोचनालाई बेलाबेला राष्ट्रपतिलाई विवादमा तान्ने प्रयासका रूपमा अर्थ्याएका छन्।

“कुनै कुरा बुझिनँ भन्नुको अर्थ बोली नबुझेको नभई कुरा नबुझेको पनि हुन सक्छ।”

लौहपुरुष भनेर पनि चिनिने गणेशमान सिंहको सम्झनामा गरिने कार्यक्रममा राष्ट्रपति भण्डारी हरेक वर्ष सहभागी हुने गरेको प्याकुरेल बताउँछन्।

“उहाँ [राष्ट्रपति] ले अरूको कुरा मैले बुझिनँ भनेर आफ्नो कुरा राख्नुभएको हो। उहाँले इङ्गित गरेर शेरबहादुर देउवाका कुरा मात्रै बुझिनँ भनेर भन्नुभएको छैन।”

“त्यसैले यसबारे धेरै टीकाटिप्पणी गर्ने र राष्ट्रपतिज्यूलाई विवादमा तान्ने काम नगरेको भए हुन्थ्यो भन्ने मलाई लाग्छ।”

मनोविज्ञको बुझाइ के छ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागस्थित प्राध्यापक डा. शिशिर सुब्बा कतिपय मानिसहरू हिजोआज आलोचना गर्नैका लागि अर्काको गल्ती कुरेर बस्ने गरेको बताउँछन्।

“कतिखेर कसैले गल्ती गर्छ र त्यसको आलोचना गर्छु भन्ने प्रवृत्ति पनि हाम्रो समाजमा हिजोआज देखिन्छ,” उनले थपे।

यद्यपि राष्ट्रपति भण्डारीले आफूले नबुझेको कुरा सार्वजनिक रूपमा नभनिदिएको भए जाती हुन्थ्यो भन्ने प्राध्यापक सुब्बाको धारणा छ।

“जसले जे भने पनि राष्ट्रपतिले त्यसरी भन्न चाहिँ नहुने हो। साँच्चै नै नसुनिएको र नबुझिएको थियो भने पनि त्यसबारे उहाँ चुप बसेको भए राम्रो हुन्थ्यो। होइन भने आफ्नो छेउछाउमा भएका र बुझेकालाई सोध्न सकिन्थ्यो।”

राजनीतिक व्यक्तिहरूसँग जोडिएको भएर पनि यो विषयमा सामाजिक सञ्जालहरूमा धेरै टीकाटिप्पणी भएको प्राध्यापक सुब्बाको ठम्याइ छ।

र, यस्तो समस्याको समाधान स्वयम् राजनीतिक दलका नेतृत्वपङ्क्ति भएको उनी बताउँछन्।

शीर्षस्थ नेताहरूले कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने प्राध्यापक सुब्बाको सुझाव छ।

“नेताहरूको कुराले ठूलो अर्थ राख्छ। आमाबुवाले सिकाउने कुरा बालबच्चाले सिक्ने जस्तै नेताहरूले पनि जे सिकाउँछन् कार्यकर्ताले त्यही सिक्ने हुन्,” उनले थपे।

बीबीसी