रवी लामिछानेको मुद्दा आज 'फाइनल' हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रवी लामिछानेको मुद्दा आज ‘फाइनल’ हुने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । दुवैतर्फको बहस पछि आजै इजलासबाट फैसला पनि आउन सक्नेछ अथवा इजलासले निर्णय सुनाउने दिन तोक्न सक्नेछ ।

बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए । सरकारका तर्फबाट एक सहन्यायाधिवक्ता र लामिछानेका तर्फबाट दुईजनाले बहस गरे ।

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकतासम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको रिट निवेदकको जिकिर छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको तर्क गरिएको छ ।