विधान महाधिवेशनपछि केपी ओलीसँग भीम रावल 'फायर' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विधान महाधिवेशनपछि केपी ओलीसँग भीम रावल ‘फायर’



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै नदिएको भन्दै थप असन्तुष्टि ब्यक्त गरेका छन् ।

१० बुँदे सहमतिमा पनि ओलीले आफूलाई धोका दिएको बताउने रावल विधान महाधिवेशनमा गरिएको एकलौटी निर्णय र व्याख्याबाट सन्तुष्ट छैनन् । उनले केपी ओलीले बाहिर लोकप्रियताका लागि सबैचिज भन्ने गरेको तर कुर्सीमा बस्नका लागि मरिहत्ते गर्दै सबै आफू अनुकुल व्याख्या गरेको समेत बताएका छन् ।

कान्तिपुरसँगको अन्तर्वार्तामा रावलले नेपालको राजनीतिमा बाहिर देखाउन र लोकप्रियताका लागि भन्ने तर वास्तवमा कतिपय मानिसहरू त्यो कुर्सी छाड्नु भनेको यो संसार नै छाड्नु जस्तो ठान्ने प्रवृत्तिका भएको बताएका छन् । नाम नै किटान नगरेपनि रावलले घुमाउरो पाराले पद नछाड्नका लागि ओलीले जे पनि गर्ने गरेको आरोप लगाएका छन्। उनले ओलीका लागि कुर्सी छाड्नु भनेको संसार नै छाड्नु जस्तै लागेको समेत आरोप लगाएका छन् ।

उनले ७० वर्ष पूरा भएपछि व्यक्तिले निशर्त पद छाड्नुपर्ने समेत बताएका छन् । त्यतिमात्र होइन उनले विधान महाधिवेशनमा आफूहरूको समूहलाई यस विषयमा बोल्न समेत नदिएको बताएका छन् । एकलौटी नेताहरू चुनेर टोली बनाएर आफ्नाका मात्रै कुरा सुनेको आरोप पनि रावलले लगाएका छन् ।

रावलले पार्टीमा अब खरो समिक्षा नगरी नहुने समय आएको बताएका छन्। उनले भनेका छन्, ‘घटना र त्यसको वरिपरी देखिएका जति पनि कुरा छन् त्यसको यथार्थ रूपमा विश्लेषण र समीक्षा नगरी कहीं कमी, त्रुटी भएको भए सच्याउने प्रतिवद्धता व्यक्त नगरी सहज र सजिलो तरिकाले गल्ती सच्याएर जाने अवस्था बन्दैन ।’

त्यस्तै १० बुँदे सहमतिको विषयमा गरिएको प्रश्नमा रावलले चर्को असन्तुष्टि ब्यक्त गरेका छन् । उनले १० बुँदे सहमति त कार्यान्वयन नै नभएको बताएका छन् । उनले भनेका छन्, ‘विगतका घटनालाई हेर्ने र विश्लेषण गर्ने कुराको समीक्षा बाँकी नै छ । १० बुँदे सहमति गरौ त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने कुरा पनि अझै पुरा भएको छैन । तत् सम्बन्धमा कार्यदल बनेको छ । त्यसमा पनि पर्याप्त छलफल गरेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छँदैछ ।’

उनले १० बुँदे कार्यान्वयन नगर्दा सबैभन्दा बढी समस्या र कार्यान्वयनमा व्यावधान जुन ठाउँमा एमाले हुँदा संयोजक र एकीकरण हुँदा इन्चार्ज थिए त्यही ठाउँमा उत्पन्न हुँदा यो बिडम्वनापूर्ण लागिरहेको समेत बताएका छन् ।

विधान महाधिवेशनमा समेत बोल्न नदिएको र एकलौटी रूपमा टोली नेता चुनेको बिषयमा समेत रावलले आपत्ति जनाएका छन् । उनले यसमा चर्को असन्तुष्टि राख्दै भनेका छन्, ‘यसपटक हाम्रो बीचमा कुनै पनि छलफल नभएर समूह नेता मञ्चबाट घोषणा गरियो । त्यस विषयमा कुनै जानकारी थिएन । बाहिरबाट हेर्दा एउटै रंगका देखियो । एउटै रंगको छनोट गरेर बहुरंगी समाजको प्रतिनिधित्व हुँदैन ।’