भीम रावलले भने: ओलीको विषयमा समीक्षा गर्नुपर्ने बेला आयो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भीम रावलले भने: ओलीको विषयमा समीक्षा गर्नुपर्ने बेला आयो



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले झण्डै दुई तिहाइ बहुमतको तत्कालीन नेकपा सरकार र एमाले कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । रावलले ओलीको नाम नलिई उनको समीक्षा गर्नुपर्ने बताए ।

नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा रावलले कसका कारण सरकार र पार्टी कमजोर भएको हो भन्ने समीक्षा आवश्यक भएको बताएका हुन् ।

“झण्डै दुई तिहाइ बहुमत भएको पार्टी कसरी कमजोर हुँदै फुटमा परिणत भयो ?, संघ देखि प्रदेशसम्मका सरकार ढलेर सत्ताको पार्टी प्रतिपक्षमा पुग्यो ?,” रावलले भने, “यसका विषयमा ठण्डा दिमागले निर्मम समिक्षा गर्न जरुरी छ ।” उनले पार्टीभित्र नेता विशेषका कारण यस्तो परिस्थिति आयो वा अन्य कारण छन् भनेर एकिन गर्न पनि समीक्षा आवश्यक भएको बताए ।

पार्टीको एकता कायम राख्न गरेको १० बुँदे सहमति कार्यान्वयन नभएको र त्यसकै आधारमा केन्द्रीय कमिटीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) कार्यान्वयनमा पनि एकरूपता नदेखिएको भन्दै उनले अध्यक्ष केपी ओलीलाई अप्रत्यक्ष रूपमा पार्टी कमजोर बनाएको आरोप लगाए ।

उनले पार्टीलाई बलियो बनाउँदै देशको स्वाधीन र स्वाभिमान बचाउन आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । उनले नीति तथा कार्यत्रक्रमकै शैलीमा पार्टीलाई अघि बढाउने नीति सार्वजनिक गर्दै नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरे ।