हुम्लामा चीनले मिचेको सीमाबारे भीम रावलले मुख खोले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हुम्लामा चीनले मिचेको सीमाबारे भीम रावलले मुख खोले



काठमाडौं- हुम्लामा चीनले मिचेको सीमाबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मुख खोलेका छन् ।

रावलले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

सोमबार ट्वीटरमार्फत नेता रावलले नेपाल र चिनियाँ पक्षका कर्मचारीलाई सामेल गराएर स्थलगत अध्ययन गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्’, उनले भनेका छन् ।

नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् ।

चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारिसकेको छ । चीनले हुम्लाको लाप्चामा नेपाली भूमि मिचेर निर्माण गरेको स्थान आफ्नो भएको दाबी गरेको छ ।

नेपाल स्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गरेको बताएका थिए ।

‘चीन र नेपाल मैत्री छिमेकी हुन् । चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ । मिडियाले उल्लेख गरेका भवनहरू चीन–नेपाल सीमानाको चिनियाँ पक्षमा रहेको प्रमाणित गरिएको छ’, उनले भनेका थिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले चीनले भवन निर्माण गरेको स्थान र हराएको भनिएको ११ नम्बर पिलरको खोजी गरेको थियो ।