रेखा शर्मा- सेनाको यातना शिवीरदेखि शंकर पोखरेलको 'गेम ओभर'सम्म - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

रेखा शर्मा- सेनाको यातना शिवीरदेखि शंकर पोखरेलको ‘गेम ओभर’सम्म



काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनको जितले दाङमा माओवादीलाई थप बलियो बनाएको छ ।

नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएपछि उनको सर्वत्र चर्चा सुरू भएको छ।निर्वाचन जितेको खबर पुगेपछि शर्मा मतदानस्थल पुगेकी छन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विश्वासपात्र हुन्  राजनीतिक जीवन यात्रा र उनको जीवनी अहिले सार्वजनिक चासोको विषय बनेको छ ।

२०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मेकी रेखा २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति जीवन शुरुवाद गरेकी थिइन । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईको क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन ।

त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन । उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष भइन । २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख भएर काम गरिन ।

उनका श्रीमान कृष्णध्वज खड्का पहिले विद्यार्थीका केन्द्रिय अध्यक्ष र अहिले लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री र प्युठानका माओवादी नेता हुन । माओवादीको शिर्षस्थ महिला नेतामा पर्ने रेखा शर्मा जनयुद्दकालदेखि राष्ट्रियस्तरमा परिचित नाम हो । रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । सरल र मिजासिलो स्वभावकी रेखा आकर्षक भाषण र संगठन कला भएकी जुझारु लिडरको रुपमा माओवादी भित्र स्थापित छिन ।

युद्धको उत्कर्ष संकटकालको समय २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन । उनी श्रीमान कृष्णध्वज खड्का सहित पक्राउ परेकी थिइन । सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ ग-यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । पार्टीको संघर्षका कार्यक्रमका विषयमा छलफल गर्ने क्रममा चाबहिलमा एक सहयोगीका कोठाबाट उनीहरुसँगै समातिएका थिए । दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाई हात पछाडि लगेर हत्कडी लगाएर शुरु भयो उनीहरुलाई यातना दिने क्रम ।

रेखा भन्छिन, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुण्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झ-यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुर्नु भकुर्थे ।

सेनाले रेखा र कृष्णध्वज माथि यातनाका विभिन्न ‘प्रयोग’हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्मको यातना रेखाले बेहोरेकीछिन । चक्कुले चिरेका दाग र भाँचिएका करङ् सहितको शरीर लिएर अहिले पनि रेखा इमान्दारिताको राजनीतिमा आफू भित्रको उर्जा पोखाइरहेकी छिन । नरोकी लगातार १० दिनको चरम यातना, मुखमा मुकुण्डो, चाडोमा चिसो भूँईमा सुत्नुपर्ने, न खाना न पानी । पानी माग्दा ट्वाइलेटको फोहोर पानी पिउन लगाउँथे । चरम अमानवीय यातनाको शिवीरबाट उठेकी राजनीतिक नेता रेखा शर्मा कुनै पावर, आफन्त वा कसैको चाकडी नगरी आजको स्थानमा आफनैं क्षमता, आफनै संघर्ष र आफैभित्रको बलियो इच्छा शक्तिले आइपुगेकी हुन ।

२०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्टीको नियमित काममा लागिन । अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा छन्। २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन ।

पार्टीले उनलाई माओवादीको तर्फबाट संसदमा प्रमुख सचेतको जिम्मेवारी समेत दिएको थियो । सामान्य प्रशासन मन्त्री भएर आफनो क्षमता संसद र मन्त्री हुँदा देखाइसकेकी रेखाको राजनीतिक संघर्ष र योगदान चर्चा गर्न लायक छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासनसमितिको सदस्य समेत भएर काम गरेकी रेखा संविधान निर्माणको चरणमा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि उनले निर्णायक भूमिका निर्वाह गरेकी थिइन ।